PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र अर्को एक साता निषेधाज्ञा थप्ने तयारी



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र अर्को एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं : कोरोना संक्रमितको दर थपिँदै जाँदा काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको समय पनि लम्बिने भएको छ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने सहमत भएका हुन्।

पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। एक साता निषेधाज्ञा थप गर्ने गरी भोलि (मङ्गलवार) बिहान ११ बजेको लागि बैठक बोलाइएको छ।

'संक्रमितको संख्या थपिरहेकाले निषेधाज्ञा पनि थपिने भएको छ। लगभग एक साताको लागि निषेधाज्ञा थप्ने छलफल भएको छ,' जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए।

आइतवार मात्र काठमाडौं उपत्यकाभित्र २ हजार ८ सय २१ जना संक्रमित थपिएका थिए। तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशङ्कामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ। अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न किनबेच गर्न पाइन्छ।

तर, ७ बजेभन्दा पहिले र भिडभाड गरेर बिक्री गरिएको भन्दै प्रशासनले कडाइ गर्ने भएको हो। त्यस्तै, अनुगमन र कारबाहीलाई पनि कडाइ गर्ने तयारी गरिएको छ। बैङ्क वित्तीय सस्थाहरुको कारण पनि मानिसको भिड सडकमा देखिएको प्रशासनको निष्कर्ष छ। सरकारी कार्यालयदेखि बैङ्क तथा वित्तीय संस्थाको हकमा के गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको सीडीओ भट्टराइले जानकारी दिए।

अहिले देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell