PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आवात जावत नरोकिँदा संक्रमण नियन्त्रणमा आएन, चार हप्तापछि घट्दै जाने स्वास्थ्यमन्त्रीको दावी



पहिलोपोस्ट

आवात जावत नरोकिँदा संक्रमण नियन्त्रणमा आएन, चार हप्तापछि घट्दै जाने स्वास्थ्यमन्त्रीको दावी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले मानिसको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्दा अपेक्षा अनुसार कोरोना संक्रमण नियन्त्रणमा नआएको बताएका छन्।

सोमवार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले मानिसको आवत जावत र केही सेवा र कार्यहरु कायमै रहेकाले संक्रमण नियन्त्रण अपेक्षा अनुसार नभएको उनले बताए। त्यस्तै, अझै चार हप्तापछि भने संक्रमण नियन्त्रणमा आउने उनको दावी थियो।

'व्यक्तिहरुको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण नभएको  र केही सेवा र कार्यहरु यथावत रहेको हुँदा संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको हुँदा संक्रमण आगामी चार हप्तामा क्रमश: घट्दै जानसक्ने देखिन्छ,' मन्त्री त्रिपाठीले भने।

पछिल्लो एक सातामा दैनिक ८ हजार ३ सय मानिसमा कोरोना संक्रमण देखिएको मन्त्री त्रिपाठीले जानकारी दिए। सरकारले कोभिड उपचारको लागि देशभर निजी र सरकारी गरेर १ सय ५७ वटा अस्पताल तोकेको छ। निजी क्षेत्रका ४५ वटा अस्पतालसँग सम्झौता गरेर संचालनमा ल्याइएको र नि:शुल्क उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। वैशाख महिनामा मात्र कोभिड उपचारको लागि ४५ करोड रुपैयाँ सोधभर्ना गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए।

भेन्टिलेटरको सङ्ख्या ३ सय २७ बाट बढाएर ९ सय ४ वटा पुगेको उनले बताए। त्यस्तै, १ सय ८० वटा भेन्टिलेटर थप गर्ने प्रकृयामा रहेको छ। आइसीयूको सङ्ख्या पनि २६ सयबाट बढाएर ३ हजार पुर्‍याइएको छ। साथै ६ सय ३० वटा थप गर्ने प्रकृयामा रहेको मन्त्री त्रिपाठीले जानकारी दिए।

त्यस्तै, कोरोना उपचारको लागि अक्सिजनदेखि सिलिण्डरको अभाव भएकाले सिलिण्डरको सङ्ख्या ५ हजार पुर्‍याइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। अहिले दैनिक २० हजार पीसीआर परीक्षण भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell