कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ का ६० वर्षीया महिला, कैलारी गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष, वडा नम्बर ८ का ६० वर्षीया महिलाको मृत्यु भएको हो।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, बेलौरी नगरपालिकाका ४४ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचनाअधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
त्यस्तै, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हाल अस्पतालमा ८१ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये १० जना आइसीयूमा र ७१ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको अस्पतालले जनाएको छ।
पछिल्लो २४ घण्टामा ९ जना निको भएर घर फर्केका छन् भने १४ जना नयाँ संक्रमित भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए।
