वीरगंज : वीरगंज महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप किन्ने तयारी थालेको छ। केन्द्र सरकारले देशभर खोप समयमा पुर्याउने सम्भावना कम भएको महसुस गर्दै वीरगंज महानगरले आफैँ खोप किनेर नगरवासीलाई लगाउने तयारी थालेको मेयर विजयकुमार सरावगीले बताएका छन्।
उनका अनुसार कम्तिमा ५/७ करोड खर्च गरेर भएपनि एक लाख नगरवासीलाई खोप लगाउने महानगरको लक्ष्य रहेको छ। उनले यस विषयमा विज्ञ स्वास्थ्यकर्मीसँग परामर्श गरी खोप खरिद गर्न अघि बढेको जानकारी दिए।
‘केन्द्र सरकारको मुख ताकियो भने समयमा खोप लगाउन सकिदैन’, उनले भने, ‘त्यसैले आफैँ खोप किनेर जनतालाई लगाउन महानगरले कदम चालेको छ, यस बारेमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति माग गरिएको छ।’
उनले विदेशमा अमेरिकी र रसियाली खोपको नतिजा राम्रो भएको र ती देशमा निजी कम्पनीहरुले नै खोप बिक्रीको डिल गरिररहेकोले आफू पनि उनीहरुसँग सम्पर्कमा रहेको बताए। यदि सरकारले अनुमति प्रदान गरेको खण्डमा खोप खरिद गर्ने प्रकृया अघि बढ्ने उनले विश्वास व्यक्त गरे।

