PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सरकारमा जानेबारे कुनै निर्णय भएको छैन : लक्ष्मणलाल कर्ण



पहिलोपोस्ट

सरकारमा जानेबारे कुनै निर्णय भएको छैन : लक्ष्मणलाल कर्ण
फाइल फोटो।

वीरगंज : केपी शर्मा ओलीले नेतृत्व गरिरहेको सरकारमा जाने वा नजाने बारेमा अहिलेसम्म जनता समाजवादी पार्टीले कुनै आधिकारिक निर्णय नगरेको नेता लक्ष्मणलाल कर्णले स्पष्ट पारेका छन्। जसपा कार्यकारिणी समिति सदस्य समेत रहेका नेता कर्णले विभिन्न सञ्चार माध्यममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर नेताहरु १० वटा मन्त्रालय लिएर एक दुई दिनमै सरकारमा जाने भनेर आएको समाचारको खण्डन गर्दै यस्तो निर्णय नभएको बताएका हुन्।

‘मैले पनि विभिन्न सञ्चार माध्यममा फलानो मन्त्री बन्न लागेको, राजेन्द्र महतोको नेतृत्वमा २ राज्यमन्त्री र ८ मन्त्री पाउने गरी जसपाका नेताहरु सरकारमा गइरहेको समाचार पढेको छु’, उनले भने, ‘बडो दूर्भाग्य छ, नेपालको पत्रकारिताको, निर्णय भएन, पहिले अन्दाजकै भरमा समाचार आइहाल्छ।’

उनले जसपाको कार्यकारिणी समितिको बैठकबाट हालसम्म सरकारमा जाने वा कोको जाने बारेमा छलफल पनि नभएको बेलामा यस्तो भ्रामक समाचारले जनतामा भ्रम छरेको बताए। उनले सरकारसँग मधेसको माग पूरा गराउने विषयमा सरकार सकारात्मक रहेको र माहोल बन्दै गएपछि आधिकारिक निर्णय भए मात्र सरकारमा जाने र मन्त्री बन्ने अवस्थ आउने बताए।

अहिले नै सरकारमा गइहाल्ने अवस्था नभएको भन्दै उनले दुई चरणमा गरी १८ मुद्दामा १४० जनामाथिको मुद्दा फिर्ता भएको, नागरिकता ऐन संशोधनको लागि अध्यादेश जारी भएको, संविधान संशोधनको लागि कार्यदल बनेका जस्ता सरकारको कदमले जसपा हालको सरकारलाई सहयोग गरिरहेको उनले बताए।

जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले महन्थ-राजेन्द्र पक्ष सरकारमा गयो भने कारबाही गर्ने जनाएको छ। जसपाका संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, सर्बेन्द्र शुक्ला, लक्ष्मणलाल कर्ण, प्रमोद साह, उपेन्द्र-बाबुरामबाट महन्थ पक्षमा आएका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, उपेन्द्र यादव पक्षकै रुही नाज, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङमध्ये ८ मन्त्री र २ राज्यमन्त्री लिएर जसपाको महन्थ-राजेन्द्र पक्षका नेताहरु सरकारमा जाने खवर सञ्चार माध्यममा आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell