PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

संक्रमणमुक्त पार्ने आयुर्वेद अस्पतालको सुत्र : औषधिमा जडीबुटी, आइसोलेसनमै योगदेखि प्रणायाम, जटिल संक्रमित पनि फर्किँदै निको भएर



पी बी खड्का

संक्रमणमुक्त पार्ने आयुर्वेद अस्पतालको सुत्र : औषधिमा जडीबुटी, आइसोलेसनमै योगदेखि प्रणायाम, जटिल संक्रमित पनि फर्किँदै निको भएर

सुर्खेत :  सुर्खेतको लेकबेशी नगरपालिका–४ का सुरेन्द्र पोखरेलले संक्रमित दाजुलाई नगरपालिकाले निर्माण गरेको आइसोलेसन अर्थात उपचार केन्द्र दशरथपुरमा राखे।

त्यस उपचार केन्द्रमा बीसको उन्नीस नभएपछि हतासिएका पोखरेललाई बिरामी दाजुलाई अब कहाँ लैजाने तनाव बढ्यो। जताततै सुनिन्छ ‘अस्पतालमा बिरामी भरिए, भर्ना नगर्ने, यदि गरिहाले पनि अक्सिजन अभावमा बिरामीको मृत्यु भयो।’ यस्तै खाले चर्चाले झनै थपिएको थियो तनाव।

अब उनी सामु दुई वटा विकल्प थियो - आफ्नै जिल्लाको प्रदेश अस्पताल वा नेपालगञ्ज।

यी दुवैमा समस्या उस्तै- बिरामी भरिएको, अक्सिजन पाउन मुश्किल। दोधारमा परेका पोखरेलले सूचना पाए विकल्पबारे। आयुर्वेद औषधालयमा संक्रमितको उपचार गर्ने कुरा। तर, आफ्नो पहुँच थिएन। त्यहीका स्थानीय एक जनामार्फत औषधालयमा बुझे। औषधालयबाट बेड खाली छ बरामी ल्याउँदा हुन्छ भन्ने खबर पाउनसाथ दाजु लिएर हिँडे उनी।

‘दशरथपुरको आइसोलेसनमा राखेको ४/५ दिन भाथ्यो, कुनै पनि सुधार आएन। झन च्याप्दै गयो, जता जतै अस्पतालका बेड छैन भन्नेमात्रै सुनेको कहाँ लैजाने तनावमा थिए’ पोखरेले सुनाए, ‘त्यहीको (दशरथपुर)एक जना दाईले यहाँ (औषधालयमा) उपचार हुन्छ भनेर थाहा पाउनु भको रैछ उहाँले नै सोधपुछ गर्दिनुभयो अनि बिरामी ल्याएर भर्ना गरेको अहिले त राम्रो छ।’

औषधालयमा भेटिएका पोखरेले दाजुलाई भर्ना गरेको चार दिनमै रिकभर भएको भन्दै खुशी व्यक्त गरे।

‘अवस्था एकदमै सिरियस हुदैँथ्यो, झण्डै यहाँ (औषधालयमा) बेड पाएर अर्को जीवन पाएजस्तै भाछ,’ उनी थप्छन्, ‘सवै उपचार आयुर्वेदिक जडिबुटीबाट गर्नुहुदो रहेछ, निरन्तर बिरामीको निगरानी गर्ने, बिरामीको मनोबल बढाउनेजस्ता क्रियाकलाप गर्नहुदोरहेछ, अहिले स्वास्थ्य विस्तारै रिकभर भईरहेको छ, एकदमै खुशी छु।’

अहिले पछिल्ला दिनहरुमा उनको दाजुले जस्तै नयाँ जीवन पाउनेहरु औषधालयमा प्रतिदिन बढ्दो छ। औषधालयबाट सात जना बढी रिफर भएर आएका जटिल प्रकृतिका बिरामी निको भएर घर फर्किएका छन् भने, अझै पाँच जना डिस्चार्ज गर्ने तयारी छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट जारी गरिएको निर्देशन अनुसार औषधालयमा उपचार भइरहेको छ। औषाधालयले आफ्नै आइसोलेसन कक्ष स्थापना गरी प्राकृतिक चिकित्सा पद्धतिमार्फत संक्रमित निको पारेर घर पठाउन थालेको हो।

औषधालयमा उपलब्ध स्रोत, साधन र जनशक्तिलाई अधिकतम प्रयोग गर्दै ९० प्रतिशत जडिबुटीबाट संक्रमित बिरामीको उपचार गर्दै आईरहेको छ।

‘निमोनिया, सुगर, प्रेसर जस्ता हुनुभएको बिरामीहरु पनि आउनुहुन्छ, उहाँले प्रयोग गरिरहेको औषधी कन्टीन्यु गर्दै, हामीले स्थानीय उत्पादीत जडिबुटी र यहाँ नपाउने भएपछि बाहिरबाट ल्याएर पनि बिरामीमा देखिएको लक्षणका आधारमा आयुर्वेदिक औषधी दिने गरेका छौँ’ आइसोलेसन कक्षका बिरामी हेर्दै आएका डा. लक्ष्मी नाराण तिवारी भन्छन्, ‘अक्सिजन स्याचुरेसन ३०/३५ भएका बिरामीहरु रिफर आएर आउनुहुन्छ, अहिलेसम्म यहाँ आउनु भएका बिरामीहरुलाई हाईफ्लोमा अक्सिजन चाहिने भयो भनेमात्रै रिफर गर्छौ नत्र सबै बिरामी यही निको हुनुभएको छ।’

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखामा कार्यरत डा. तिवारी अहिले आयुर्वेद ओषधालयामा संक्रमित बिरामीको निगरानी गर्दै आएका छन्।

उनका अनुसार अहिले बिरामीलाई च्याबनप्रास, गुर्जो, एस्टेमधु, असुरोको पात, सितपलादी, अमृत चियाजस्ता स्थानीय उत्पादीत जडिबुटीबाट बिरामीको उपचार गराइरहेको छ।

औषधालयले आइसोलेसन कक्षमै बिरामीका लागि प्रायः बिहान योग, ध्यान, प्रणायाम, ब्रिथिङ एक्ससाईज जस्ता क्रियाकलाप गर्ने गरेको छ।

‘बिहान योग, ध्यान, प्रणायाम गराउँछौँ, जसले गर्दा लङफ्ङसनमा केही इम्प्रुभमेन्ट पनि देखिएको छ’ डा. तिवारीले भने, ‘बिरामी र बिरामी कुरुवाहरुलाई समेत मनोसामाजिक, भय त्रास दुर गर्न गि उर्जा र कान्तिमय बनाउन हरेक बिहान बेलुका त्यस्ता कार्यक्रम पनि गर्छौ।’

औषधालय रिफर भएर आएका जटिल प्रकृतिका संक्रमित बिरामीहरु निको भएर घर फर्किएका छन्।

प्रदेश आयुर्वेद औषधालयलाई सामाजिक विकास मन्त्रालयले शय्या, अक्सिजन, मास्क, सेनिटाइजर जस्ता आवश्यक सामान खरिद गर्न दिएको १७ लाख रुपैयाँ बजेटले अहिले अस्पतालमा संक्रमितको उपचार गर्ने थलो बनेको छ।

संक्रमितका जटिल प्रकृतिका बिरामीले अन्य अस्पतालमा शैय्या नपाउने अवस्था भएपछि प्रदेश आयुर्वेद औषाधालयले वैशाख अन्तिम हप्तादेखि १५ शय्याको आइसोलेसन बेड तयार गरी बिरामी भर्ना लिन थालेको हो। औषधालयले विभिन्न साझेदार सरोकारवाला निकायको सहकार्य र समन्वयमा कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवासमेत सुरु गरेको छ।

‘हामीसँग बेड, बेड स्ट्यान्ड, लकर, मनिटर, अक्सिजन सिलिण्डर केही सामान थिएन, साझेदार व्यक्ति र संस्थाहरुमार्फत रातारात सिलिण्डर र बेड ल्यायौँ,’ औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले भने,‘ मन्त्रालयबाट प्राप्त १७ लाख बजेट दिएको दुई दिनमा न्यनुतम बजेट र न्युनतम जनशक्तिका बावजुत हामीले आइसोलेसन कक्ष तयार पारेर बिरामीको उपचार गरिरहेका छौं।’

प्रमुख डा. रिजालका अनुसार औषधालयमा जनशक्तिको चरम अभाव रहेको बताए। चिकित्सकसहित चार जनाले धानेको औषधालयमा जनशक्ति अभाव छ। बिरामीको २४ सै घण्टा निगरानीका लागि एक जना चिकित्सकसहित अर्का एक जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

बिहान र बेलुका भने प्रमुख डा. रिजाल र डा. तिवारीले आइसोलेसन कक्षका बिरामीको अवस्था जाँच गर्छन्। अहिले औषधालयमा सुर्खेतसहित दैलेखका संक्रमित रिफर भएर आउने गरेका छन्।

‘अहिले हामी कहाँ सुर्खेत र दैलेखका बिरामीहरु भर्ना हुनुहुन्छ,’ प्रमुख डा. रिजालले भने, ‘हाम्रो बिरामी राख्दिनुपर्यो भनेर फोन गरेका गरे हुनुहुन्छ, तर, के गर्नु हाम्रो स्रोत, साधनले भ्याएसम्म बिरामी लिने हो, त्यसैले चाँहादा चाँहदै पनि कतिपय बिरामीलाई बेड खाली छैन भनेर निराश पार्नुपर्ने अवस्था भएको छ।’

कतिपय सामान्य अवस्थाका कोरोना भाइरस संक्रमितका बिरामीलाई फोनबाटै परामर्श र काउन्सेलिङ दिने गरिएको उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell