PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अक्सिजनकै कारण फेरि चर्चामा वनमन्त्री, स्टिकर टाँसिएको सिलिन्डर चिनियाँ सहयोगकै हो? यस्तो छ आलेको जवाफ



एम बम

अक्सिजनकै कारण फेरि चर्चामा वनमन्त्री, स्टिकर टाँसिएको सिलिन्डर चिनियाँ सहयोगकै हो? यस्तो छ आलेको जवाफ

कैलाली : अक्सिजनबारेको धारणाका कारण चर्चामा आएका वनमन्त्री प्रेमबहादुर आलेमगर अहिले पुन: अक्सिजनकै कारण चर्चामा छाएका छन्। रुखबाट कार्बनडाइअक्साइड फाल्ने र मानिसले अक्सिजन फाल्ने अभिव्यक्तिबाट चर्चामा आएका आले अहिले भने अक्सिजन सिलिन्डरका कारण चर्चामा छन्।

सामाजिक सञ्जालमा आलेको स्टिकर टाँसिएको सिलिन्डरसहितको फोटो अहिले चर्चामा छ। धेरैले उनको कार्यको विरोध गरेका छन्। केहीले उनको सहयोगको चर्चा।

भएको के हो?

वनमन्त्री आले सोमवार हेलिकप्टरमार्फत आफ्नो गृह जिल्ला डोटी पुगे। उनले जिल्ला अस्पताल डोटीमा एक समारोहका बिच अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री जिल्लाभरका स्थानीय तहका लागि भन्दै वितरण गरे। ७५ वटा अक्सिजन सिलिन्डर र १ लाख ५० हजार मास्क जिल्ला भरका स्थानीय तहका लागि वितरण गरिएको उनले बताए। साथै अक्सिजन कन्सन्ट्रेटर, अस्पताल बेड, एन्टिजेन कीटलगायतका अन्य स्वास्थ्य सामग्री र कोरोनाको उपचारमा प्रयोग हुने औषधी पनि सहयोग गरिएको छ। आलेले दिएका सिलिन्डर र स्वास्थ्य उपकरणका प्याकेटमा एउटा रंगीन स्टिकर टाँसिएको छ। जसमा लेखिएको छ - नेपाल सरकारको माननीइ वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्युको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री। स्टिकरमा मन्त्री आलेको फोटोमा समावेश छ।

त्यही स्टिकर टाँसिएको निलो अक्सिजन सिलिन्डरको फोटोका कारण आलेमाथि खनिएका छन्। डोटीकै एक जनप्रतिनिधिले समेत यसको विरोध जनाएको छ। ‘एक त जिल्लामा कोरोनाको अवस्था केही सहज भइसकेपछि यो सामग्री आइपुग्यो। एक डेढ हप्ता अघिसम्म अक्सिजन अभावमा एक दिनमा ५ जनासम्मको मृत्यु हुँदा मन्त्रीको ध्यान पुगेन। अहिले अक्सिजनमा सहजता भएर मृत्युदर घटेपछि लगनपछिको पोते भने जस्तो यो सहयोगको अर्थ छैन,’ डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घका प्रदेश अध्यक्ष दुर्गा ओझाले भने, ‘त्यसमा पनि जनताको सेवाका लागि भनेर गएका जनप्रतिनिधिले आफ्नो फोटो टाँसेर सहयोग गर्नु कदापि उचित होइन।’

वास्तविकता के हो?

चिनियाँ सहयोगमा आएको अक्सिजन आफ्नो व्यक्तिगत सहयोग भन्दै फोटो टाँसेर बाँडेको आलेमाथि आरोप लागेको छ। के सरकारी अनुदानको सिलिन्डरमै आफ्नो फोटो टाँसेका हुन् त आलेले? आफ्नो बदनाम गराउन खोजिएको भन्दै मन्त्रीले आलेले भने उक्त सहयोग आफूले व्यक्तिगत तवरबाटै गरेको दाबी गरेका छन्। डोटीबाट आइतवार धनगढी आइपुगेका उनले यस्तो दाबी गरेका हुन्।

आफ्नै व्यक्तिगत सहयोगबाट स्वास्थ्य सामग्री किनेर दिँदा पनि केही मिडियाले भ्रम फैलाउने काम गरेको उनको गुनासो थियो। ‘जनताको सेवाका लागि भनेर धेरै पटक मन्त्रालयमा धाइयो। सरकार कोरोनालाई विस्थापित गर्नुपर्छ, नेपाली जनताको धन जनको रक्षा गर्नुपर्छ भनेर लागि परेकै छ। आफूलाई घण्टौँ घण्टासम्म लाइनमा कुरेर जिताएका जनताका लागि भनेर मैले पनि सङ्घर्ष गरी यो सहयोग हस्तान्तरण गरेको छु,' मन्त्री आलेले भने। ती सिलिन्डर चिनियाँ नै भएको तर आफूले किनेको उनको दाबी रह्यो।

चीनमा आफूले १५ दिनअघि व्यक्तिगत रुपमा १५ लाख डिपोजिट गरेर ल्याएको उनले बताए। १२५ सिलिन्डरमध्ये ११० वटा आफैले किनेको मन्त्री आलले दाबी गरे।

'एउटा चाइनिज कम्पनीसँग एक सय सिलिन्डर मलाई चाहियो भनेर सम्झौता गरें। यता स्वास्थ्य मन्त्रालयसँग पनि मलाई सिलिन्डर चाहियो भनेर अनुरोध गरें। त्यसपछि निरन्तर लाग्दा स्वास्थ्य विभागबाट मात्र १५ वटा सिलिन्डर पाएँ। १ सय १० वटा आफैंले खरिद गरेर जिल्ला अस्पताल डोटीलाई ७५ वटा दिएको र ५० वटा सेती प्रादेशिक अस्पताललाई दिएको छु,' मन्त्री आलेले भने।

त्यस्तै १ लाख ५० हजार मास्क डोटीका स्थानीय तहलाई र ५० हजार मास्क सेती प्रादेशिक अस्पताललाई सहयोग गरिएको उनले बताए।

यता अस्पतालले पनि ११० अक्सिजन सिलिन्डर मन्त्री आलेकै निजी सहयोगमा प्राप्त भएको जनाएको छ।

सरकारबाट प्राप्त सिलिन्डरमा पनि स्टिकर!

यद्यपि स्वास्थ्य विभागबाट दिइएको भनिएको १५ सिलिन्डरमासमेत उनले आफ्नो फोटो टाँसेका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई ५० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने क्रममा उनले डोटीका लागि एक करोड ५० लाख रुपैयाँ अक्सिजन प्लान्ट स्थापना गर्न आफ्नो पहलमा बजेट विनियोजन भएको पनि बताए। सेती अस्पताललाई प्रदान गरिएको सिलिन्डरमा भने उनले आफ्नो फोटो रहेको स्टिकर लगाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell