पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने संकेत गरेका छन्। 'सिरि ए लिग'को चौथो स्थानमा युभेन्टस समेटिएसँगै इन्स्टाग्राममा उनले युभेन्टस छाड्ने संकेत दिएका हुन्। उनले उक्त पोस्टमा आफूले इटालीमा तय गरेको लक्ष्य पूरा गरेको जनाएका छन्।
रोनाल्डोको युभेन्टससँग २०२२ सम्मको करार छ। यो सिजन सकिएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र रियल मड्रिडमा उनी आबद्ध हुन सक्ने चर्चा चलिरहेको बताइएको छ। इटलियन सञ्चारमाध्यमहरुले पनि रोनाल्डो टुरिन शहरबाट बाहिरिन खोजिरहेको बताएका छन्।
‘कुनै पनि उत्कृष्ट खेलाडीको जीवन र करियरमा तलमाथि भइरहन्छन,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘वर्षेनी हामीले उत्कृष्ट टिमहरुमा असामान्य खेलाडीहरुको महत्वकांक्षी गोलहरुसँग सामना गरिरहेका हुन्छौं। त्यसैले हामी उत्कृष्ट रहन सँधै आफ्नो ‘बेस्ट’ दिइरहेका हुन्छौं।’
रोनाल्डोले यो वर्ष सिरि ए को उपाधि जित्न नसकेको भन्दै इन्टर मिलानलाई ‘वेल डिजर्भड’ उपाधिका लागि बधाई दिएका छन्। उनले युभेन्टसको उपलब्धी र आफ्नो व्यक्तिगत उपलब्धी उल्लेख गर्दै आफू टप स्कोरर बन्न सकेको उल्लेख गरेका छन्। त्यस्तै इटालीमा प्रतिस्पर्धा उच्च रहेकाले केही पनि जित्न सहज नभएको जनाएका छन्।
‘यी उपलब्धीहरुसँगै मैले आफूले इटाली आएको पहिलो दिन निर्धारण गरेको मेरो लक्ष्य पूरा गरेको छु: च्याम्पियनसिप जित्ने, कप जित्ने, सुपर कप जित्ने र उत्कृष्ट खेलाडीसाथै उच्च गोलकर्ता बन्ने,’ उनले लेखेका छन्, ‘मैले पहिलै भनेको छु, म रेकर्ड पछ्याउँदिन, रेकर्डले मलाई पछ्याउँछ। जसले मैले भनेको यो कुरा बुझेन, मैले भन्न खोजेको सामान्यगरि फुटबल एउटा कलेक्टिभ गेम हो। तर व्यक्तिगत रुपमा ‘ओभरकम’ गर्नाले टिमलाई उपलब्धी दिलाउन सकिन्छ।’
इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा च्याम्पियन बनेदेखि आफू उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेको उनले उल्लेख गरेका छन्।