काठमाडौंमा एउटा यस्तो बस्ती छ जुन यतिखेर रोगसँग फिटिक्कै डराएको छैन। किनकि डराएर, रोएर र कराएर केही हुँदैन – उनीहरूको अनुभवले यस्तै भन्छ। हरेक बिहान बस्तीमा घन्कने रेडियोले उस्तै समाचार दिन्छ – देशभर संक्रमण बढ्यो। संक्रमणले मान्छे मरे। बिरामीलाई सास फेर्न गाह्रो भएको छ तर अस्पतालमा बेड छैन। अक्सिजन छैन।
बस्तीको बासिन्दा एकअर्कासँग प्रश्न गर्छन् - यो देशमा सरकार चाहिँ छ कि छैन?
रेडियोले बोल्ने राजनीतिको भाषा पूरै बुझ्दैनन् बस्तीका मानिस। तर, यति बुझेका छन् – सरकारले जनताको लागि केही गरेको छैन। उनीहरूले यति बुझ्न कोरोना भाइरसको महामारी भोग्नै परेन। भोगिरेहको जीवनले बुझायो। रोगले बुझायो। रोगसँग लड्दालड्दै झेलिरहेको परिस्थितिले पनि।
त्यसैले थेत्तरो भएका छन् उनीहरू। गोजी टक्टकाउँदा झर्ने वा ऋण जुटाएको केही रकमले नयाँ मास्क वा स्यानिटाइजर किन्दैनन्। फेस सिल्ड वा डिस्इन्फेक्टेन्ट स्प्रे देखेका छैनन् उनीहरूले। भौतिक दुरी कायम गर्न पुग्ने छैन कोठाको आकार। त्यहीँ ओच्छ्यान, त्यहीँ भान्सा।
बनस्थली, राष्ट्रिय मिर्गौला उपचार केन्द्र पछाडिको यो बस्ती आफ्नै गतिमा चल्छ। ग्याँस सकिए, दैलोमा चुल्हो बनाउँछ। कोठाभित्र बनाउँदा घरबेटीको घर मैलिन्छ। चामल सकिए, गाँस काट्छ। जम्मा गरेको पैसा सकिए, ऋण खोज्न पैदलै जहाँसम्म पनि पुग्छ। तर, निषेधाज्ञाले ठप्प पारेन यहाँको दैनिकी। किनकि एकछिन रोकिँदा जीवन नै सकिन सक्छ। डायलासिसको आडमा सास फेरिरहेकाको कथा हो यो।
+++
तीन वर्षअघि १२ वर्षका थिए गणेश मल्ल। आफ्नै शरीर उकुसमुकुस भएको पत्तै पाएनन्। त्यसैले भन्न जानेनन् – आमा मलाई पिसाब नआएको धेरै दिन भयो। बिस्तारै खाना खान छाडे, खाएको गाँस वान्ता हुन थाल्यो, शरीर सुन्नियो। के भयो कसरी पत्ता लाउनु?
रुकुम पश्चिमको दुर्गम भेग रारीभन्दा माथि, न बिजुली पुगेको छ न बाटो नै। अस्पताल र डाक्टर नदेखी मर्नु धेरै बिरामीहरूको बाध्यता हो त्यहाँ। गणेशको हकमा पनि त्यस्तै भयो। बुवा प्रेम भारतमा थिए, मजदुरी गर्न पुगेका। आमा मीना मल्लले अर्ध होसमा भएको छोरालाई काँधमा बोकेर ओरालो झर्न सकिनन्।
गाउँकै धामी झाँक्रीले भने – 'बोक्सी लागेको हो। भूतमसानले छोपेको हो। अस्पताल लगेपछि उतै पर्छ। हाम्रो पासमा राख्, बचाइदिन्छु।'
उनीहरूले भनेजस्तै गरिन् मीनाले। बाइस वटा कुखरा र चार वटा बोका चढाए। चार महिना बित्यो। गणेशको मुख बाङ्गिएर कानसम्मै पुगिसकेको थियो। घरिघरि पल्टाउने फुस्रा आँखा र मीनाले छोराको छातीमा कान टाँसेर सुन्ने ढुकढुकीले मात्र छनक दिन्थ्यो – ऊ जिउँदै छ।
मीना नै रुँदै, कराउँदै हिँड्ने, हार गुहार गर्ने भएपछि उनको नन्द ज्वाइँले गणेशलाई बोके। र, हिँडे अस्पताल खोज्दै। नेपालगञ्ज मेडिकल कलेजको अस्पतालमा एक रात आइसीयूमा राखेपछि थाहा भयो – गणेशको दुईटै मिर्गौलाले काम गर्न छाडेको महिनौं बितिसक्यो। बचाउने हो भने काठमाडौं नै पुर्याउनु पर्छ।
धामी झाँक्रीको सुनेर बसेको यथार्थले बिझायो मीनालाई। 'आमाबुवा बाठा भए भने हुन्थ्यो। आँदाआँदीलाई यस्तै हुनेरै'छ। केही नबुझेको आमाबुवा पनि नहुनु पर्ने रै'छ,' पश्चिमेली लवजमा बर्बराइन् उनी।
हिँड्न परेपछि बाटो पनि खोजिँदो रहेछ। रुकुमभन्दा पर कतै नदेखेकी मीना छोरालाई जोगाउने ठाउँ खोज्न हिँडिन्। भर्खरै गोडेको मकै र दुईवटा भैंसी छिमेकीकै भरमा छाडिन्। काठमाडौं त्रिवि शिक्षण अस्पतालमा २४ दिन आइसीयू र भेन्टिलेटरमा रहे गणेश। धेरैले भनेका थिए – भेन्टिलेटरमा राखेको भनेपछि आशा मारिदिनु। तर, एउटी आमाले सन्तानलाई गर्ने मायाभन्दा बढी भएर चुलियो आशा। श्रीमानले भारतमा रगत पसिना चुहाएर जम्मा गरेको साढे पाँच लाख सक्किँदा रित्तिएकी थिइन् उनी। तर, छोराको जीवन सकिन्छ भन्ने कल्पना चाहिँ गर्न सकिनन्।
बिझाउन त तब थाल्यो जब जीवनमा अभाव खिल बनेर गडेको छ भन्ने वोध भयो। यतिन्जेल उनका श्रीमान पनि काठमाडौं आइसकेका थिए। मतलव – कमाइ ठप्प। ऋण बढ्दो। शहरमा सास फेर्ने हावामात्र सित्तैमा।
'जसलाई पर्छ उसैलाई मात्र थाहा हुन्छ यो सास्ती। त्योबेला श्रीमान भारत नगा'भे हुनेरै'छ कि भन्ने सोचेँ। देशमै बस्नेलाई त सरकारले जागिर दिन्थ्यो अथवा उपचार गर्दिन्थ्यो कि?,' उनले सुनाइन्, 'काठमाडौंमा त देश चलाउनेहरू छन् भन्थे। आश जाग्यो।'
जब ऋण दिनेहरू सक्किए, छोराले औषधी समयमा पाएन। छट्पटायो। उस्तै अवस्थामा पुगिन् मीना पनि। रुने, कराउने, चिच्याउने। उनी सोच्थिन् – कसैलाई नलाग्ने रोग दैबले लगाइदियो मेरो छोरालाई। उनी छिनछिनमै संयम गुमाउथिन्, आक्रोशित हुन्थिन्। नजिक भएका मानिसहरू नै डराउन थाले उनीसँग।
'श्रीमानले कोठामै थुनेर राख्न थाल्नु भयो मलाई। जब पहिलो पटक छोराको डायलासिसको लागि मिर्गौला उपचार केन्द्रमा पसे। त्यहाँ किड्नी फेल भ'को धेरैजना देखेँ। यो समस्या मेरो मात्र होइन रै'छ भन्ने बुझेँ,' उनले भनिन्।
गणेशको रगत नियमित मेसिनले सफा गर्नपर्ने भएपछि पूरै परिवारको बसाइ काठमाडौंमा भयो। अस्पतालमै भेटिएका कोहीले आफूसँगै लिएर गएका थिए खाली कोठा देखाउन। पहिलो पटक त्यो साँघुरो कोठा देख्दा भाडा महङ्गो भएको मानेकी थिइन् मीनाले। तर, घरभरी सबै डायलासिस गराउन पर्नेको परिवार बस्ने थाहा पाएपछि पाएको ठाउँ छोड्न मन मानेन।
एउटै खाले चोट भोग्नेसँग पीडा र आँशु साट्न सजिलो हुन्छ भन्ने सोचिन्।
बस्तीमा १३ वटा परिवार। सबैको परिवारमा एकजना मिर्गौलाका बिरामी। कसैको हप्तामा तीन पटक डायलासिस गर्नुपर्ने, कसैको दुई। डायलासिसको लागि नेपाल सरकारले मेसिन त नि:शुल्क उपलब्ध गराएको छ। तर, डायलासिसका क्रममा आवश्यक औषधी र सामाग्री आफै किन्नुपर्छ।
डायलासिसको विकल्प मिगौला प्रत्यारोपण हो। तर, प्रत्यारोपणको खर्च व्यहोर्न सक्ने सबैले मिर्गौला पाउँदैनन्। मिर्गौला पाउने सबैसँग प्रत्यारोपण खर्च हुँदैन। यस बस्तीमा प्राय सबै छाक टार्न र डायलासिससँगै दिनुपर्ने औषधी जुटाउन हम्मेहम्मे परेकाहरू छन्। यी तिनीहरू हुन् जो दुरबाट आएर एउटा जीवनका लागि स-परिवार संघर्ष गरिरहेकाहरू छन्। जसका काठमाडौंमा आफ्नो केही र आफ्ना कोही छैन।
गणेशको उपचारका लागि बुवा प्रेमले ज्यामी काम गरेर रकम जुटाउन थाले। एकजनाको कमाइले घरभाडा तिर्नु कि पेट भर्नु कि उपचार गर्नु? भारत गएर कमाउँदै ल्याउँदै कक्षा १२ सम्म पढेका उनका दाइ नरेन्द्रलाई पनि बाआमाले यतै बोलाए। पढ्ने सपना बिट मर्यो। नरेन्द्र बुवासँगै काममा हिँड्न थाले। अझै सपना मरिसकेको सकेका छैन। उनी पनि आशावादी छन् - एकदिन भाइलाई ठीक हुन्छ। अनि जिन्दगी पुन: पुरानै लयमा फर्किन्छ।
यो परिवारको आशालाई आड दिएको थियो एउटै खबरले। खबर – मिर्गौला प्रत्यारोपण गर्न सरकारले सहयोग गर्छ।
+++
'छोराको लागि मुटु, कलेजो नै दिन तयार थिएँ। मिर्गौला त दुईटा हुन्छ। एउटा दिन के भयो र? तर, एउटा ज्यानबाट निकालेर अर्कोमा हाल्न पैसा थिएन र पो त!,' मीनाले भनिन्।
मिर्गौला प्रत्यारोपणका लागि सरकारले पाँच लाख रुपैयाँ दिन्छ भन्ने थाहा पाउँदा मीना मल्ल खुशीले बुरुक्कै उफ्रेकी थिइन्। एक वर्षअघि डाक्टरको सल्लाह अनुरुप उनले आफ्नो मिर्गौला परीक्षण प्रक्रिया अघि बढाइन्। राज्यको भर परेकी थिइन् उनी। तर, उनको स्वस्थ शरीर जाँच गराउँदै अर्को पाँच लाख ऋण थपियो। त्यही बिचमा गणेशको एउटा मिर्गौलामा पत्थरी देखियो, शल्यक्रियामा डेढ लाख खर्च। प्रत्यारोपण गराउँदा अर्को ६ लाख डिपोजिट राख्नु पर्ने थाहा पाएपछि अत्तलिइन् उनी।
ऋणको भारी जति गह्रौ भए पनि मीना छोरालाई मिर्गौला दिन योग्य ठहरिँदा मन हलुका भएको थियो मल्ल परिवारको। आफू थलिएदेखि यता पहिलो पटक आमालाई हाँसेको देखेका थिए गणेशले।
त्यसपछि सम्झन सक्ने र भेट्न सकिने हरेक चिनजानका अघिल्तिर हात फैलाए। कसले दिनु? बदलामा सल्लाह पाए – जेठो छोरो छ त। उसैको मुख हेर्नु। कान्छोको माया मार्दिनु।
- बचाउनै मन भए घरबारी बेच्नु। तिमीहरूले ऋण तिर्न सक्दैनौं।
वचनले बिझायो तर विकल्प भेटेनन्। श्रीमान्, श्रीमती पालैपालो गाउँ धाए। घरबारी बेचेर छोराका लागि नयाँ जीवन किन्ने सपना साँचेर। तर, कसले तोक्नु बिजुली र बाटो नदेखेको त्यस पाखोको मोल?
'हुन त हामी रुकुम पश्चिमको जिमिनदार। तर, त्यहाँको घरबारी बिक्री हुँदैन। मान्छेहरू भन्छन् - यो जग्गाको कुरै नगर। कसरी खाने कुठाउँको माटो कोट्याएर?,' जवाफ गणेशका आमाबुवासँग छैन।
जग्गा बिक्ला कि ऋण मिल्ला भन्दाभन्दै कोरोना भाइरसको महामारी फैलियो। प्रेम र नरेन्द्रको काम रोकियो। खर्च जुट्ने बाटोमा निषेधाज्ञाको तगारो लाग्यो। सुरु भयो अभावको अर्को श्रृङ्खला। जहाँबाट रोगमात्र होइन भोकले पनि र्याखर्याख्ती पार्न थाल्यो। महिना मरेको दिनदेखि घरबेटीको उस्तै दवाव – भाडा तिर्न नसके निस्कनु। छुट दिन वा पर्खन सक्दिनँ। किनकि सरकारले मसँग तिमीहरूलाई बस्न दिएको कर असुल्छ।
सरकार, सरकार, सरकार भनेको सुन्दा मीनालाई खुब हेर्न मन लाग्यो सरकारको मुहार।
लकडाउन भएको केही महिनामा सरकारको मुख देख्न पाउने खुशी बोकेर लाम लागिन् उनी, आफूजस्तै अभाव झेलिरहेकाहरूसँग मिसिएर। सरकारले दश किलो चामल दिएर पठायो।
'हामी रुकुमको जिमिनदार भनेजस्तै रहेछ सरकार। सुन्दा केके न होलाजस्तो लाग्ने। तर गर्न केही नसक्ने, निरिह,' उनले चिनेको सरकारको हैसियत बुझाइन्।
गत लकडाउनमा राहतको चामलको भात खाए उनीहरूले। छोराको ओखतीमा हप्ताको ३ हजार खर्च हुन्छ। त्यसका लागि कानको १२ आनाको मुन्द्री बेचिन्। यस पटक न खानका लागि नुन बाँकी छ, न बेच्नका लागि सुन। ग्याँस सकिएर दाउरामा पकाउन थालेको महिना दिन बित्न लाग्यो। जतिबेला पनि आगो बल्न दिँदैन हावाहुरीले। त्यसैले दिउँसो भोक टार्न पिउने फिक्का चिया पनि उम्लन छोडेको छ अहिले।
परिस्थिति जे सुकै होस् छोरालाई बचाउँछु भन्ने अठोट थियो उनको। गरिबीले बिस्तारै गलाउँदै छ उनलाई। किनकि आन्द्रा त पानी पिएरै भर्लान् तर छोराको शरीरले औषधीको साटो केही पनि पत्याउँदैन। मिलाएर नपिउँदा पानी पनि सत्रु हो उनको छोराका लागि। अब निषेधाज्ञा लम्बिने र काम नपाउने हो भने समयको अघिल्तिर हात उठाउनुको विकल्प के? सोच्न सकेका छैनन्।
'हामीलाई त कोरोना पनि लाग्दैन हेर्स्यो न। कता गएको होला ? पोरा चोटी नि लागेन, अले पनि लाग्दैन। सबै लागेर मर्नु पाए पो जान-परिवार नै,' उनले हात जोड्दै भनिन्, 'लागे त अनन्द भैहाल्थ्यो त भाइ। कति गाह्रो छ मान्छेलाई। मरे भविष्य के होला भन्ने पीरले खाँदैनथ्यो।'
+++
बस्तीका सबैका उही कथा, उस्तै व्यथा। भोलि रोगले लगे पनि भोकले लगे पनि बाँचुन्जेल के खाने, के लाउने?
'पोहोर त मनकारी दाजुभाइले चामल ल्याइदिए। खाइयो भात। खाएकोलाई खाइएन भन्न परेन,' ६५ वर्षीय मनबुजा गिरीले सुनाइन्, 'अब त दिनेलाई नि गाह्रो भयो नि! वर्षदिनसम्म कमाउन पा'छैनन्। उनीहरूलाई नि गाह्रो होला।'
मनबुजा दमको रोगी। श्रीमान् सुगर र प्रेसरसँग जुधिरहेका छन्। यी वृद्ध दम्पत्ती ३० वर्षीया छोरी गीताको भरोसाका पात्र हुन्।
तेह्र वर्षअघि गीताको दुवै मिर्गौलाले काम गर्न छाड्यो। छोरीलाई एउटा मिर्गौला दिइन् मनबुजाले। भारत गएर गराएको प्रत्यारोपणले ६ वर्षमात्र काम गर्यो। त्यसयता गीता नियमित डायलासिसको भरमा जीवन भोगिरहेकी छिन्। बुटवलका स्थानीय यो परिवारका लागि बनस्थलीस्थित यही बस्ती आफ्नो ठाउँ बनेको छ। गीताका बुवाको पेन्सनले धानेको छ राशन खर्च र कोठाभाडा। औषधीका लागि एउटै बाटो – ऋण।
जसोतसो पुर्याइरहेका थिए। अचानक निषेधाज्ञा भयो। गीताको नियमित डायलासिसमा समय कटायो राष्ट्रिय मिर्गौला उपचार केन्द्रले। शरीरबाट जति पानि निकालिन्थ्यो, परिमाण घट्यो। त्यसपछि उनलाई असहज महसुस हुन थालेको छ। खाना रुच्न छाड्यो। अनिद्रा बढ्यो। रातभर जागै।
उपचार केन्द्रका १७ जना नर्सलाई कोरोना भाइरसको संक्रमण भएपछि चार घण्टा हुने डायलासिसलाई तीन घण्टा बनाइएको हो। बिरामीको अवस्था हेरेर उनीहरूलाई समस्या नपर्ने गरी डायलासिसको समय कटाएको बताउँछन् केन्द्रका कार्यकारी प्रशासकीय निर्देशक विमल बराल।
'डायलासिस गराउने बिरामीहरूमा पनि संक्रमण बढ्दो छ। हामीले ठाउँ र जनशक्ति छुट्याएर सेवालाई निरन्तरता दिएका छौं,' बरालले भने, 'अवस्था सामान्य हुने बित्तिकै पहिलेजस्तै चार घण्टा डायलासिस सेवा दिन्छौं। हाललाई भने बिरामीलाई असर नपर्ने गरी अवधि घटाएका हौं।'
यो पनि पढ्नुस् : सबैलाई हँसाउने कमेडियन आदर्श शोकमा, उपचारमा समय कटौतीले लियो उनको बुवाको प्राण!
मिर्गौला रोग विशेषज्ञ डाक्टर सागर गुरुङ भने डायलासिस अवधि एक घण्टा घटाउँदा बिरामीको शरीरमा असर पर्ने दावी गर्छन्। 'नियमित चार घण्टा डायलासिस गराइरहेका बिरामीको समय कटौती गर्दा अन्य स्वास्थ्य समस्या देखिन्छ,' उनले भने, 'त्यस्ता समस्यामध्ये केही प्राणघातक हुन सक्छन्।'
उनका अनुसार डायलासिसको मापदण्ड पूरा नहुँदा बिरामीको शरीर सुन्निने, अधिक टाउको दुख्ने, वान्ता आउने, शरीरका अङ्ग दुख्ने, खाना नरुच्ने, निदाउन गाह्रो हुने, श्वासप्रश्वास बढ्ने, मुटुमा पानी जम्ने जस्ता समस्या देखिन सक्छन्।
'बिरामीको सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर मात्र डायलासिसको समय कटौती गरिनुपर्छ,' उनले भने, 'बिरामीले पनि उत्तिकै सतर्क हुन आवश्यक छ। मुख बार्नुपर्छ। विशेषगरी पानी थोपा थोपा गरेर पिउनुपर्छ। पोषणमा ध्यान दिनुपर्छ।'
तर, अन्नको दाना गनेर छाक टारिरहेका सिंगो बस्तीका बिरामीहरूले कसरी गर्नु 'ब्यालेन्स्ड डायट?'
धादिङ खाल्टिङकी टीकाकुमारी गुरुङ त एक्लै बस्छिन्। डायलासिसमा लाग्ने खर्च श्रीमानले पठाउँदै आएका थिए। निषेधाज्ञाले गर्दा त्यो पनि रोकिएको छ। ४३ वर्षीया उनी साताको दुई पटक गर्ने डायलासिसका लागि औषधी कसरी जुटाउने मर्कामा परेकी छिन्। सँगै डायलासिसको समय घटेदेखि अस्वस्थ महसुस भएको छ। 'अन्यत्र अस्पताल जानुपर्यो भने खर्च छैन मसँग त। जीवन दाउमा छ,' उनले भनिन्।
गत वर्ष लकडाउन सुरु भएयता बस्तीका ९ जना मिर्गौलाका बिरामीले ज्यान गुमाए। कसैले डायलासिसको मेसिनमै जोडिएको अवस्थामा अन्तिम सास फेरे। कति अस्पतालबाट बस्तीमा फर्कँदाफर्कँदै। कोही कोठाकै खाटमा निदाएका थिए, उठेनन्। कोही अस्पतालको शय्यामै बिते। बस्तीबाट ठीक भएर फर्कने आशा हुँदैन। जीवरभर डायलासिस गराउन बाध्यहरूको जीवन नै कति लामो हुन्छ? टुंगो छैन।
जो मरेर गए पनि बस्तीकै मानिस मिलेर सेलाउन लैजान्छन्। मलामी गएर फर्किएपछि स्तब्धता छाउँछ बस्तीमा। प्रायका आँखा रसाएका हुन्छन्। त्यस्तो बेलामा गणेशको आँखामा हेर्न डराउँछिन् मीना।
'ऊ आत्तिएको हुन्छ। आमा मेरो उपचार कहिले हुन्छ? भनेर सोध्यो भने के जवाफ दिनु?,' मीनाले प्रश्न गरिन्।
उनी स्वयं निषेधाज्ञा अन्त्य हुने प्रतीक्षामा छिन्। त्यसो भयो श्रीमान र जेठो छोरोले फेरि काम पाउने छन्। इँटा र बालुवाको भारी बोकेर जुटाउने छन् औषधीको खात। भोकसँग खेल्नुपर्ने छैन पैठे जोहरी।
प्रत्यारोपनका लागि चाहिँ सायद पुरानो हुनेछ मीनाको मेडिकल रिपोर्ट। फेरि खर्चन बाँकी छैन उत्तिनै रकम। उनले सुनेकी छिन् – प्रधानमन्त्रीको दुई पटक मिर्गौला प्रत्यारोपण भएको छ। यस्तो अवस्थामा उनी प्रधानमन्त्रीसँग सोध्न चाहन्छिन् – सरकार मेरो अवोध छोरा हाँसिरहेको देख्न कहिलेसम्म पाउँछु?