मंगलवार बिहान साढे ९ बजे आदर्श मिश्रले ट्वीट गरे – म मेरो बुवालाई गुमाउन चाहन्न।
त्यसको केही घण्टामा खबर सार्वजनिक भयो – कमेडियन आदर्श मिश्रको बुवा रहेनन्।
उनले सुरुमा 'टिम जितपुर'मा आफूसँगै काम गरिरहेका साथी सोनु जैसवाललाई फोन गरेर दिएका थिए यस्तो दु:खद् खबर। भक्कानिँदै भनेका थिए – 'अस्पतालको लापरवाहीले पापालाई मार्यो ।'
चार वर्षअघि देखि आदर्शका बुवा विनोद मिश्रको दुवै मिर्गौलाले काम गर्थेन। नियमित डायलासिस गराइरहेका उनी लकडाउन यता देशको कमजोर स्वास्थ्य प्रणालीबाट प्रभावित भए। समयमा डायलासिस गराउन पाएनन्।
सोमवार वीरगन्जको नारायणी अस्पतालमा उनको डायलासिस भएको थियो। तीन घण्टा मेसिनमा जोडिएर रगत सफा गरेपछि जितपुरस्थित घर फर्किएका थिए। तर, अचानक उनको स्वास्थ्य स्थिति बिग्रियो। उनको ज्वरो उच्च थियो। सास पनि बढेको थियो। राति नै आदर्शले सोनुलाई फोन गरेर भने – 'एम्बुलेन्स लिएर आउ पापालाई गाह्रो भयो।'
आदर्शले बुबालाई १ सय ३० किलोमिटरभन्दा परको चितवनस्थित भरतपुर अस्पताल लिएर गए। बिहानसम्म स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेको सुनाए सोनुले।
'उसले हिजो दिउँसो नै भनेको थियो – मलाई धेरै डर लागेको छ। पापाले आँखा ठूलोठूलो गरी हेरिरहनु भएको छ। म अब काठमाडौं लिएर जान्छु,' सोनुले सुनाए,'मैले पनि संक्रमणको जोखिम छ। सुरक्षित हुन्छ भने लिएर जाउ भन्ने सल्लाह दिएको थिएँ। तर, बचाउन सकिएन।'
सधैँ गर्दै आएको डायलासिस तीन घण्टाको साटो चार घण्टा भएको भए बुवाको ज्यान जोगिन्थ्यो भन्ने दावी छ उनीहरूको।
मिर्गौला रोग विशेषज्ञ सागर गुरुङको पनि यही बताउँछन्। 'नियमित चार घण्टा डायलासिस गराइरहेका बिरामीको समय कटौती गर्दा अन्य स्वास्थ्य समस्या देखिन्छ। ती समस्या प्राणघातक हुन्छन्,' उनले भने।
थोरै समयमा बिरामीको शरीरभित्र रगत जति शुद्ध हुनुपर्थ्यो त्यति नहुने र त्यसले जोखिम बढाउने डाक्टर गुरुङको भनाइ छ।
'नेपालका आम मिर्गौला पीडितहरुले समयमा मिर्गौला प्रत्यारोपण गराउन सक्दैनन्। बिग्रिएको मिर्गौलाले रगत सफा गर्दैन। त्यसैले बिरामीलाई बचाउनका लागि नियमित डायलासिस आवश्यक पर्छ,' डाक्टर गुरुङले भने, 'मिर्गौला बिग्रनु निकै संवेदनशील समस्या हो। त्यसैले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डायलासिस गरिनुपर्छ।'
अमेरिकाको नेशनल किड्नी फाउन्डेसनका अनुसार हेमोडायलासिस सातामा कम्तिमा तीन पटक, चार/चार घण्टाका लागि गरिनुपर्छ।
सातामा तीन पटक भनिए पनि नेपालका अधिकांश बिरामीको साताको दुई पटकमात्र डायलासिस सेवा पाउँछन्। आदर्शका बुवाले पनि साताको दुई पटक मात्र पाएका थिए यो सेवा।
गत वर्ष लकडाउन सुरु भएसँगै अधिकांश अस्पतालका डायलासिस सेन्टरले त्यही दुई पटक पनि चार/चार घण्टाका लागि नभएर साढे दुईदेखि तीन घण्टामात्र गराउन थालेका छन्।
'त्यसैले बिरामीको सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर मात्र डायलासिसको समय कटौती गरिनुपर्छ,' उनले भने, 'बिरामीले पनि उत्तिकै सतर्क हुन आवश्यक छ। मुख बार्नुपर्छ।'
डाक्टरले भनेजस्तै अस्पतालहरुले आवश्यक स्वास्थ्य परीक्षण नगरी सबै बिरामीलाई एउटै घानमा हाल्नुले बिरामीहरुलाई च्याप्नेदेखि मृत्युसम्मको परिणाम देखिएको दावी गर्छन् मिर्गौला पीडित सरोकार समितिका अध्यक्ष बलराम सुवेदी।
'महामारीलाई बहाना बनाएर मिर्गौला पीडितलाई समस्यामा धकेलिँदैछ। पीडितका परिवार आफन्त गुमाउँदै जाने अनि अस्पताल र सरकार पन्छिनै रहने?,' सुवेदीको प्रश्न छ।
यो पनि पढ्नुस् : एउटा यस्तो बस्तीको कथा जहाँ मानिसहरू निरीह भएर सोध्दैछन् : हामीलाई नै किन लैजाँदैन कोरोनाले?
त्यही मारमा परे आदर्शको परिवार। त्यसैले दर्शक हँसाउने एक पात्र आज शोकमा छन्, राज्यले स्वास्थ्य प्रणाली सुधारमा देखाएको लापरवाहीका कारण।
यस विषयमा उनी महिनौंदेखि सामाजिक सञ्जालमार्फत् आवाज उठाइरहेका थिए।
आफ्नो बुवाले डायलासिस सेवा नपाएको समस्याबारे भिडियो अपलोड गरेका थिए। भिडियोमा उनले प्रदेश २ मा मिर्गौला पीडितहरूको बेहाल भएको बताएका थिए। भनेका थिए, ‘मलाई बडो अच्चम लागेको छ। प्रदेश २ मा कतै कोरोना भएका मिर्गौला पीडितको लागि डायलासिस सेवा उपलब्ध छैन। कहाँ छ अस्पताल, नेताहरू के गर्दैछन्,मिडिया के गर्दैछ?’
त्यतिबेला उनले बुवालाई डायलासिसका लागि नेशनल मेडिकल कलेज पुर्याएका थिए। तर, पीसीआर परीक्षणको रिपोर्ट मागियो। त्यसपछि नारायणी अस्पतालमा सोर्सफोर्स लगाएर बुवाको डायलासिस गराएको बताएका थिए उनले।
डायलासिसको विकल्प अर्थात् प्रत्याारोपण समेत गराउन खोजेका थिए उनीहरूले। दाता पनि मिलेको थियो। अर्थात् आदर्शकी ठूली आमा योग्य र तयार थिइन् मिर्गौला दिन। तर, उनी भारतीय नागरिक भएका कारण नेपालको व्यवस्थाले रोक्यो मिर्गौला दिन।
यस विषयमा आदर्शले आक्रोशित हुँदै लेखे : म नेपाल सरकारविरुद्ध मुद्दा दर्ता गर्न चाहन्छु किनकि यो सरकारले मेरो बुवाको मिर्गौला प्रत्यारोपण गर्न दिएको छैन। कारण चाहिँ – हाम्रो दाता भारतीय नागरिक हुनु।