काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीलगायतका नेतामाथि भएको पार्टीको कारवाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको टिप्पणी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सहितका नेतालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरेका छन्।
'जनअपेक्षा विपरीत केपी ओलीले केही समयअघि षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो 'नेकपा' लाई विभाजन गर्ने काम फत्ते गरे,' उनले अपिलमा भनेका छन्, 'त्यसपछि सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने आम कार्यकर्ता पंक्तिको माग विपरित एकाधिकारवादी शैलीमा पार्टीलाई चलाउने काम भयो।' नेपालले कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रुपमा केपी ओलीले आफूलाई स्थापित गरेका टिप्पणी गरेका छन्।
'केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेका छन्। कम्युनिष्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरु उत्साहित हुने तर सर्वहारा वर्ग र आम नेपाली जनता अपहेलित हुने अवस्था आउनु दुखद् पक्ष हो,' नेपालले भनेका छन्।
प्रधानमन्त्री ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गर्दा नेकपा एमालेको संगठन निस्तेज बन्न पुगेको नेता नेपालको दावी छ। निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाहरुले राज गरेको बताउँदै नेपालले भनेका छन्, 'यसविरुद्ध आवाज उठाउँदा हामीमाथि केपी ओलीबाट प्रहार भयो।' उनले नेकपा एमालेको ओली गुटले गरेको कारवाहीलाई 'कथित' भन्दै उक्त कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको बताएका छन्।
'यसबीचमा मैले व्यक्तिगत रुपमा र सामूहिक रुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि सक्दो भूमिका निर्वाह गरेँ। ओलीले पार्टीलाई गम्भीर मोडमा र संकटपूर्ण अवस्थामा पुर्याए भनेर आम जनसमुदाय र नेता कार्यकर्ताबीच पुर्याएँ,' नेता नेपालले भनेका छन्, 'पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरेँ। तर सत्ता,शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन् ,वास्ता गरेनन् बरु प्रतिशोध साँध्ने काम मात्र गरे!'
उनले मनोगत आधारमा र स्वेच्छाचारी ढंगले सरकार चल्दा र जनअपेक्षा अनुरुप काम नहुँदा निराशा बढेको उल्लेख गरेका छन्। राज्यका विभिन्न निकायले कोरोनाले भयावह रूप लिन्छ भन्दाभन्दै पनि ओलीले यसलाई मनोगतरुपमा ठट्टाको विषय बनाको नेपालको आरोप छ। 'ओलीको कुतर्क र कुवर्णनका कारण कोरोना प्रतिकार्यका लागि राज्य संयन्त्रले प्रभावकारी कार्य सम्पादन गर्न सकेन। हजारौंको ज्यान जाने अवस्था बन्यो। सिंगो जनताप्रति यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन,' नेता नेपालले भनेका छन्।
नेता नेपालले अब कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट ओली सरकारलाई बढार्ने र कानूनको राज स्थापना गर्ने दायित्व आएको जनाएका छन्। 'ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपील गर्दछु,' नेता नेपालले अपीलमा भनेका छन्।
