PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेश मातहतका सबै अस्पतालमा अब अक्सिजन प्लान्ट, एक हप्ता समय सीमा राखेर टेन्डर आह्वान



निशा गुरुङ

वाग्मती प्रदेश मातहतका सबै अस्पतालमा अब अक्सिजन प्लान्ट, एक हप्ता समय सीमा राखेर टेन्डर आह्वान

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेण्डर आह्वान गरेको छ। 

कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत् एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको हो। 

मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ। यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस् भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ। यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।

एक महिनाभित्र अक्सिजन प्लान्ट स्थापना भइसक्छ : मन्त्री बस्नेत 
सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरि छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको बताइन्।

प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै प्लान्ट सन्चालनमा रहेको छ। बाँकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुलाई सुविधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको बताइन्। साथै, मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाँकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन्।

यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ।
कोभिडको दोस्रो लहर बढेसँगै वाग्मती प्रदेश सरकारले  'एक जिल्ला एक पीसीआर मेसिन' राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell