काठमाडौं : गत शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिन्। कोरोनाको चरम महामारीबीच पनि प्रतिनिधिसभा विघटनसँगै चुनाव हुने निर्णय भयो। यसअघि २०७७ पुष ५ गते पनि प्रतिनिधि सभा विघटन गरिएको थियो। अहिले राष्ट्रपतिसहित प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ।
कोरोना महामारीबीच स्वास्थ्य साम्रागीहरुको अभाव हुँदा पनि नेपाल सरकार र राजनीतिज्ञहरुलाई जनताको स्वास्थ्यको केहि मतलब नभएको भन्दै साहित्यकार तथा लेखक युग पाठक आक्रोशित छन्।
सरकारले जनताको दैनिक जीवनको संकटसँग मतलब नराखेको भन्दै उनले आक्रोश व्यक्त गरे। प्रधानमन्त्रीमा आफू जसरी पनि सत्तामा टिक्ने सोच मात्र रहेको उनले बताए।
उनी भन्छन्, ‘यस्तो संकटको बेला पनि निर्वाचन गर्ने कुरा भइरहेको छ। जुन पैसाले खोप, भेन्टिलेटर र औषधि किन्न सकिन्थ्यो। तर, नेताहरु अर्बौँ पैसा चुनावमा खर्च गर्न खोज्दैछन्। जनताले यस्तो महामारीमा पनि आफ्नै बलबुतोमा लड्नुपरेको छ। जुन निकै दुखद कुरा हो।’
प्रतिनिधि सभा विघटनविरुद्ध शनिवार बृहत नागरिक आन्दोलनको तर्फबाट विज्ञप्ति जारी गरेको उनले बताए। उनी आजभोलि सरकारविरुद्धको छलफल र सरकारलाई दबाब दिने कार्यक्रममा नै व्यस्त छन्।
उनले भने, ‘अहिले जे भइरहेको छ त्यो ठूलो षड्यन्त्र हो। यसले जनतालाई थप संकटमा पार्दैछ। यस्तो परिस्थितिमा हामीले जनता एकजुट भएर आफूले सक्ने गरि आआफ्नो क्षेत्रबाट सरकारको विरोध गर्ने सामर्थ्य राख्नुपर्छ।’
