वेव सिरिज ‘द फेमली म्यान २’ रिलिज हुनुअघि नै विवादमा फसेको छ। जुन ४ बाट अमेजन प्राइममा रिलिज हुन लागेको वेव सिरिजले तमिलनाडुका जनताको भावनामाथि ठेस् पुर्याएको भन्दै प्रशारणमा रोक लगाउनुपर्ने माग उठेको छ।
साउथ अभिनेत्री सामन्था अक्किनेनीको निभाएको पात्रलाई लिएर सोसल मिडियामा शुरु भएको विरोध राजनीतिक स्तरसम्म पुगेको छ। वेव सिरिजको ट्रेलर रिलिज भएदेखि सामन्थाको पात्रलाई लिएर तमिलनाडुमा विरोध गर्दै यसलाई प्रतिबन्ध लगाउन माग गरिएको छ।
राज र डिकेको निर्देशन तथा निर्माण रहेको वेव सिरिजको मे १९ मा ट्रेलर सार्वजनिक भएको थियो। वेव सिरिजको रोक लगाउनु पर्ने माग गर्दै भारतको तमिलनाडु राज्य सरकारले केन्द्रिय सरकारलाई पत्र पठाएको छ।
उक्त पत्रमा यो वेव सिरिजले श्रीलंकामा तमिल इलमको ऐतिहासिक संघर्षको बदनाम गर्न खोजेको भन्दै तमिलनाडुको राज्य सरकारले आरोप लगाएको छ। तमिल संस्कृतिको अपमान गरेको भन्दै यो सिरिज प्रशारणमा रोक लगाउन राज्य सरकारले केन्द्र सरकारलाई पत्र पठाएको हो।
यसको एक दिन अगाडि मात्र राज्य सभा सांसद वाइकोले सूचना एवं प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए।
राज्य सरकार र सांसदले नै पत्र पठाउँदै प्रशारणमा रोक लगाउन माग गरेपछि यो वेव सिरिजको प्रशारणमा समस्या हुने देखिएको छ।
