काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ। पार्टीमा एक अध्यक्षले अर्को अध्यक्षलाई स्पष्टीकरण सोध्ने, कारवाही गर्ने गतिविधिले पार्टीलाई फुटको दिशातिर अग्रसर गराएको हो।
सोमवार राती अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ठाकुरले पार्टीको मूल्य मान्यता नीति तथा विधान विपरीत कामकारवाही गरेको भन्दै पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारवाही सम्बन्धी व्यवस्थानुसार स्पष्टीकरण सोधेका हुन्। उपेन्द्रलाई जवाफ पठाउन ३ दिनको समय दिइएको छ।
यसअघि यादवले आफ्नो समूहको केन्द्रीय कार्यकरिणी समिति बैठकबाट जेठ ९ गते अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए। साथै कर्ण र शुक्ला कुनै पनि संविधान संशोधन कार्यदलमा नरहेको र पार्टीले नपठाएको उल्लेख गरेका थिए।
सम्बन्धित समाचार :जसपामा उपेन्द्र-बाबुराम समूहको निर्णय : ओली सरकारमा गए पार्टीबाट स्वतः निष्कासित, महन्थ र राजेन्द्रलाई स्पष्टीकरण
आफूलाई स्पष्टीकरण सोध्ने उपेन्द्रलाई जवाफी स्पष्टीकरण सोध्दै महन्थले मधेस मुद्दा समाधान हुँदा किन ठेस पुग्यो भनि प्रश्न गरेका छन्।
'झुठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तीको निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु कर्ण र शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो?' महन्थले सोधेका छन्।
अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका ४ जना सांसदको निष्काशन, एकलौटी कार्यकारिणी समिति बैठक, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएको, सर्वोच्च अदालतमा विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गरेको विषयमा पनि स्पष्टीकरण सोधेका छन्।
स्पष्टिकरणका विषयहरु :
१. पार्टी एकता भए देखि नै समायोजनमा रुचि नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधीहरु किन संचालन गर्नु भयो ?
२. मेरो जानकारी वेगर अनअधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठक वसि लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निस्कासन गर्नु भयो ?
३. तपाईले मिति २०७८-०२-०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड-१९ को महामारीको बढ्दो संक्रमणले २०७८-०२-०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितीको बैठक बोलाई एकल अध्यक्षता गरि पार्टी हित विपरित निर्णहरु गर्नु भयो ?
४. पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनअधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितीको तथाकथित बैठकहरु बसि पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नु भयो?
५. विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा गठवन्धनद्वारा गरिएको संघर्ष र आन्दोलनको कममा आन्दोलनकारी साथीहरु माथि लगाईएका झुट्ठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तीको निम्ति अपूर्ण रहेको संविधानमा संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु लक्ष्मण लाल कर्ण र सर्वेन्द्र नाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कारवाही प्रक्रिया अगाडि बढाउनु भयो ?
६. तपाईले मिति २०७८-०२-०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६( ५) अनुसार प्रतिनिधि सभा सदस्य के.पी. शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८०२-०७ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयो ?
७. तपाईले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्न भयो?
