काठमाडौं : नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्स अन्तर्गतका लागि इराक प्रस्थान गरेको छ। मंगलवार बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत नेपाली टोली इराक गएको हो।
नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।
४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ। विश्वकप क्वालिफार्सपछि घरेलु मैदानमा थ्री नेसन्स कप खेलेको नेपाल च्याम्पियन बनेको थियो। क्वालिफायर्सका बाँकी खेलका लागि २३ खेलाडी र १३ जना अफिसियलसहितको ३६ सदस्यीय टोली आज इराक पुगेको छ।
नेपालले पहिलो खेलका रुपमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछिका खेलहरुमा क्रमश चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग खेल्ने छ। कस्ता छन् त नेपालका प्रतिस्पर्धी?
इराक
नेपालले पहिलो खेलमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। इराकको आयोजनामा वास्रा इन्टरनेसनल स्टेडियममा नेपाल र इराक भिड्नेछन्। खेल मे २९ (जेठ १५ गते) हुने तय छ।
फीफा वरीयताको ६८ औं स्थानमा रहेको इराकले विश्वकप छनोट अन्तर्गतको खेलका लागि मैत्रीपूर्ण खेलहरुमा जोड दिइरहेको छ। छनोटमा इराक समूह सी मा ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा छ। इराक रहेको समूहमा बहराइरन, इरान, हङकङ र कम्बोडिया छ। विश्वकप छनोटको बाँकी खेल सुरु हुनु अघि इराकले चारवटा मैत्रीपूर्ण खेल खेलिसकेको छ। जसमा पछिल्लो खेलमा ताजकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो भने उज्बेकिस्तानलाई १-० ले हराएको थियो। त्यस्तै कुवेतमाथि २-१ को जित निकालेको इराकले युएईसँग गोलरहित बराबरी खेलेको थियो।
नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।
फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात कुनै बेल विश्वकपमा समेत सहभागिता जनाइसकेको इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ।
चाइनिज ताइपेइ
विश्वकप छनोट अन्तर्गतका यसअघिको समूह बी मा नेपालले जित निकालेको एकमात्र टोली हो चाइनिज ताइपेइ। फिफा वरीयतामा १४१ औं स्थानमा रहेको ताइपेइलाई नेपालले यसअघिको खेलमा उसकै घरेलु मैदानमा २-० ले हराएको थियो।
विश्वकप क्लालिफायर्सका खेलबाहेक ताइपेइले कोभिड महामारीपछि अन्य कुनै प्रतियोगिता या मैत्रीपूर्ण खेल खेलेको छैन। पछिल्लो खेलमा जोर्डनसँग ५-० को पराजय ब्यहोरेको ताइपेइले त्यसअघि कुवेतसँग ९-० र अस्ट्रेलियासँग ७-१ को फराकिलो हार ब्यहोरेको थियो।
समूह बी मा ताइपेइले ५ खेल खेलेर जित निकाल्न सकेको छैन। त्यसैले विश्वकप छनोटको समूह बी मा ताइपेइ अण्डर डग टिमको रुपमा देखिन्छ।
नेपालले ताइपेइसँग जुन ३ मा कुवेतस्थित अल कुवेत स्पोर्टस् क्लब स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
जोर्डन
त्यस्तै नेपालले प्रतिस्पर्धा गर्ने अर्को टोली हो जोर्डन। फिफा वरीयताको ९५ औं स्थानमा रहेको जोर्डनले विश्वकप क्वालिफायर्सकै यसअघिको खेलमा नेपाललाई ३-० ले हराएको थियो।
समूह बी मा ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदै शीर्षस्थानको होडमा कायम छ। नेपालसँग खेल्नु अघि जोर्डनले मे ३१ मा भियतनामसँग मैत्रीपूर्ण खेल खेल्नेछ। यसअघिका मैत्रीपूर्ण खेलमा जोर्डनले यूएईलाई ५-१ को फराकिलो अन्तरले हराएको थियो भने बहराइनलाई २-१ ले र लेवनानलाई १-० ले हराएको थियो। यद्यपि त्यसअघिको खेलमा ओमनसँग गोलरहित वरावरी र उज्वेकिस्तानसँग २-० को पराजय ब्यहोरेको थियो।
नेपालले जोर्डनसँग जुन ८ मा कुवेतस्थित अल कुवेत स्पोर्टस् क्लब स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
अस्ट्रेलिया
नेपालले यो भ्रमणमा प्रतिस्पर्धा गर्ने सबैभन्दा हेविवेट टिम हो अस्ट्रेलिया। फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।
कोभिड महामारीपछि कुनै खेल नखेलेको अस्ट्रेलिया समूह बी मा सबैभन्दा बलियो टोलीका रुपमा देखिएको छ। समूहमा मात्र ४ खेल खेलेर अस्ट्रेलियाले सबै खेलमा जित निकाल्दै १२ अंकसहित शीर्षस्थानमा कायम छ। पछिल्लो विश्वकपमा सहभागिता जनाएको अस्ट्रेलियाले नेपालसँग भन्दाअघि कुवेत र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।
अस्ट्रेलियाका पछिल्ला खेलहरुलाई हेर्नेहो भने सन् २०१९ मा साउथ कोरियासँगको मैत्रीपूर्ण खेलमा १-० को पराजय ब्यहोरेयता ४ खेलमा अपराजित छ। त्यसपछि विश्वकप छनोट अन्तर्गत समूह बी मा आफ्नो पहिलो खेलमा कुवेतमाथि ३-० को फराकिलो जित निकालेको अस्ट्रेलियाले दोस्रो खेलमा नेपाललाई ५-० ले हराएको थियो। त्यस्तै तेस्रो खेलमा चाइनिज ताइपेइमाथि ७-१ को सानदार जित निकालेको अस्ट्रेलियाले पछिल्लो खेलमा जोर्डनलाई १-० गोअन्तरले हराएको थियो।
खेलाडीहरु
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी खेलहरुका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले केही अनुभवी खेलाडीहरुको स्थानमा नयाँ खेलाडीहरुलाई स्थान दिएका छन्।
प्रारम्भिक चरणमा रहेका भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रविशंकर पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङ लगायतका खेलाडीहरु बाहिरिएका छन् भने मनिष डाँगी, सुरज जिउ ठकुरी, विशाल सुनार, आयुस घलानलगायतका खेलाडीले पहिलो पटक टिममा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले टिममा पुनरागमन गरेका छन्।
यस्तो छ २३ सदस्यीय नेपाली टोली
किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास