PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी, ओली पक्षका ३ सांसद पनि उपस्थित



एम बम

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी, ओली पक्षका ३ सांसद पनि उपस्थित

कैलाली : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ। बिहान ९ बजे बोलाइएको बैठक केही ढिला गरी शुरु भएको हो।

नेकपा एमाले केन्द्रले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न एमाले प्रदेश सांसदहरु छलफलमा जुटेका हुन्।

बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तीन जना सहभागी भएका छन्।

ओली पक्षका पठानसिंह बोहरा, नेपालु चौधरी र माया तामाङ बोहरा बैठकमा उपस्थित छन् भने रतन थापा, लिलाधर भट्ट र गेल्बु सिं बोहरा उपस्थित छैनन्।

सोमबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय लिएको थियो। सरकारमा सहभागी मन्त्रीहरुलाई पनि एमालेले फिर्ता बोलाएको छ। सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि अब भट्टले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ।

प्रदेश सभामा एमालेका २५ सदस्य छन्। यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ सांसद छन्। माओवादीले एक सांसदमाथि यसअघि नै कारबाही गरेर हटाइसकेको छ। कांग्रेसका १२ सांसदले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टीका दुई सांसद छन्।

तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छन्। माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेका २७ सदस्य हुनेछ। आन्तरिक विवादका कारण जसपा पनि एक ढिक्का छैन।

एमाले एकै ठाउँमा उभिएको अवस्थामा मुख्यमन्त्रीले भट्टलाई विश्वासको मत लिन कठिन छ। तर, सुदूरपश्चिममा प्रधानमन्त्री केपी शर्मा ओली समूह कमजोर छ। ओली पक्षका ६ मात्र सांसद छन्। माधव नेपाल पक्षले साथ दिएमा भट्टलाई विश्वासको मत प्राप्त गर्न कुनै कठिनाइ छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell