काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) ले फ्रेन्चाइजी टिम विराटनगर सिटीमाथि कारवाही गरेको छ। प्रतियोगिता भर विवादमा रहेको विराटनगर सिटी र उक्त टिमका चार जनालाई एनएसएलले कारबाही गरेको हो।
प्रतियोगितामा ललितपुर सिटीसँगको १९ औं खेलमा विराटनगर विवादमा तानिएको थियो। उक्त खेलबारे टेक्निकल पार्टनर अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा एनएसएलले कारबाही गरेको हो।
एनएसएलले विराटनगरमाथि एक लाख रुपैयाँ जरिवाना लागएको छ। उक्त खेलमा खेलाडीहरुलाई मैदान बाहिर निस्कन उक्साउन टिम व्यवस्थापन जिम्मेवार भएको ठहर गर्दै कारबाही गरिएको हो।
त्यस्तै, प्रशिक्षक यान ल माथि ५० हजार रुपैयाँ जरिवाना र एक सिजनको प्रतिबन्ध समेत लगाइएको छ। प्रतियोगिता भर रेफ्रीको निर्णयलाई लिएर कडा आलोचनामा उत्रिएका यानले पटकपटक टचलाइन क्रस गरेको एनएसएलले ठहर गरेको छ।
त्यसबाहेक विराटनगरका टेक्निकल डाइरेक्टर सोनाम घले, असिस्ट्न्ट कोच निशान श्रेष्ठ र असिस्टेन्ट म्यानेजर मिलन गुरुङमाथि ३ खेलको प्रतिबन्ध लगाइएको छ। यसबाहेक पनि एन्फाले थप अनुसन्धान गर्ने एनएसएलले जनाएको छ।
के भएको थियो?
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत १९ औं खेलमा ललितपुर सिटीले विराटनगर सिटीमाथि सहज जित निकाल्दै प्लेअफका लागि क्वालिफाई गरेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तनावपूर्ण खेलमा विराटनगरलाई ४-० गोलअन्तरले हराउँदै ललितपुरले प्लेअफको यात्रा सुनिश्चित गरेको थियो।
ललितपुरले ३६ औं मिनेटमा अञ्जन बिष्टको गोलमा खेलमा अग्रता हासिल गरेको थियो। त्यस्तै, विराटनगरका सर्वाधिक गोलकर्ता पेड्रो माञ्जीले लगातार हेण्डबलको अपिल गरेपछि पहेँलो कार्ड खाएका थिए।
पहिलो हाफमा एक गोलले अघि रहेको ललितपुरका लागि दोस्रो हाफमा विमल रानाले गोल थपे। उनले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा तनावको स्थिति उत्पन्न भएको थियो। विराटनगरका अफिसियलहरु झगडामै उत्रिएका थिए भने खेलाडीहरुलाई पनि मैदानबाहिर बोलाइएको थियो।
पेड्रो माञ्जीलाई छाडेर अन्य विराटनगरका खेलाडीहरु मैदान बाहिर गएका थिए। झगडा साम्य पार्न एनएसएलका आयोजकहरु त्यहाँ पुगेका थिए। त्यसको केहीबेरमा खेल सुरु त भयो, तर खेल सुरु हुनसाथ विराटनगरले फ्रि-किक जित्यो त्यसमा ललितपुरका खेलाडी असन्तुष्ट हुँदै रेफ्रीसँग अपिल गरे।
तर, खेलाडीहरु बीच केहीबेर तनावको स्थिति कायमै रह्यो। त्यस्तै खेलको ८५ औं मिनेटमा कप्तान रञ्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका विजय धिमाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि विराटनगर १० खेलाडीमा सीमित भएको थियो।
ललितपुरका लागि तेस्रो गोल अन्जन विष्टले खेलको ८१ औं मिनेटमा गरेका थिए भने नुर्लान नोब्रुजोभले अतिरिक्त समयमा गोल थप्दा खेल ललितपुरले आफ्नो पक्षमा पार्यो। खेलपछि पनि विराटनगरका प्रशिक्षक यान ल ले रेफ्रीको क्षमतामाथि प्रश्न उठाउँदै स्कुल स्तरको प्रतियोगिता गर्ने किसिमको भएको तर्क गरेका थिए।
नेपाल सुपर लिग अन्तर्गत पहिलो खेलमा गरेको ‘लफडा’लाई लिएर विराटनगर सिटी एफसीले माफीसमेत मागेको थियो। खेलको बिचमै खेलाडीहरुलाई मैदानबाहिर बोलाउने निर्णय खेलाडीको नभएर व्यवस्थापनको भएको भन्दै विराटनगरले माफी मागेको हो।
‘एउटा सुन्दर खेलको स्पीरिटलाई बिगार्ने हाम्रो इन्टेनसन थिएन’, विराटनगरले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘क्लबले समर्थक, शुभचिन्तक र फुटबल परिवारमा परेको ‘हर्ट’ लाई महसुस गरेको छ।’
यद्यपि घुमाउरो पारामा रेफ्रीको निर्णयलाई लिएर आफूहरु असन्तुष्ट रहेको विराटनगरले स्पष्ट पारेको थियो। प्रतियोगितामा आफ्नो क्लबमाथि भएका गलत निर्णयबारे अपिल गर्दा नसुनिएको भन्दै विराटनगरले उल्लेख गरेको छ: यसले एनएसएलको स्तर माथि लैजाँदैन।