PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रुपन्देहीमा जेठ २० गतेसम्म लम्बियो निषेधाज्ञा



पूजा पन्थी

रुपन्देहीमा जेठ २० गतेसम्म लम्बियो निषेधाज्ञा

बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ २० गते सम्म निषेधाज्ञाको अवधि बढाएको छ। जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै बुधवार बसेको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले थपिएको अवधिमा शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला ब्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द हुने जानकारी दिए।

यस्तै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ। कुनै पनि भेला, भीडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ। सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ मल, ब्यूटिपार्लर र स्विमिङ पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ।

त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ। शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ।

अति आवश्यकीय सामग्रीहरु खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यापार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell