काठमाडौं : नेपालका राजनीतिक दल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बिच कोभिड-१९ महामारी विरुद्धको विषयमा छलफल भएको छ। सीपीसीको आयोजना भएको छलफलमा नेपालका तर्फबाट नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता नारायण खड्का, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, राप्रपाका अध्यक्ष पशुपति शमशेर राणालगायतले सम्बोधन गरेका थिए।
त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट सीपीसीका अन्तर्राष्ट्रिय विभागका मन्त्री सङ ताओ, उपमन्त्री चन च्ओको सहभागिता थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औं वर्षगाँठको अवसरमा नेपाल र चीनका राजनीतिक दलहरुबिच कोभिड-१९ महामारी विरुद्धको लडाई र जनताको जीवन रक्षाका लागि भएको अनलाइन मिटिङमा नेपालका तर्फबाट बोल्ने नेताहरुले चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा कोभिड-१९ विरुद्धको लडाईमा पुर्याएको सहयोग प्रति धन्यवाद व्यक्त गरे।
बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाइना फाउन्डेसन फर पिस एण्ड डेभलम्पेन्टले कोभिड-१९ विरुद्धको लडाईका लागि माओवादी केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको भन्दै धन्यवाद व्यक्त गरे। नेपालमा कोभिड-१९ उच्च विन्दुमा रहेको अवस्थामा अक्सिजन र अस्पतालका शय्या अभाव भएको भन्दै उनले चिनियाँ सहयोगले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुगेको बताए।
नेपालको विकासमा निरन्तर रुपमा चीनले सहयोग पुर्याएको भन्दै प्रचण्डले विकास तथा मानवीय सहयोगको लागि धन्यवाद दिए। उनले चिनियाँ राष्ट्रपति सि जिङपिङको सफल नेतृत्वमा कोभिड-१९ विरुद्धको लडाईमा विजय हात पारेको भन्दै चीनलाई बधाई समेत दिए। साथै, चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको सयौं वर्षगाँठको पूर्वसन्ध्यामा चीनले पूर्ण गरिवि उन्मुलन गरेको भन्दै बधाई व्यक्त गरे।
त्यस्तै जनवादी गणतन्त्र चीन स्थापनाको सयौँ वर्षगाँठको अवसरमा २०४९ सम्म दोस्रो सतवार्षिकी लक्ष्य प्राप्त होस भन्दै शुभकामना व्यक्त गरे।
चीनले बहुपक्षीय तथा विश्वव्यापीरुपमा नेपालसहितका विश्वका देशहरुलाई सहयोगको हात बढाएको भन्दै प्रचण्डले प्रशंका गरे र नेपालमा चीनले सहयोग प्रदान गरेको खोपले कोभिड-१९ नियन्त्रणका लागि सहयोग पुर्याएको भन्दै थप सहयोग गर्न आग्रह गरे।
त्यस्तै प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफ्नो चीन भ्रमणको स्मरण गर्दै दुई देशबिच साझा विकासको लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गरे। साथै उनले नेपाल-चीनबिच २०१८ मा भएको बेल्ट एण्ड रोड इनिसिएटिभमा हस्ताक्षर भएको भन्दै भने, 'मलाई विश्वास छ दुवै देश साझा समृद्धि तथा साझा स्वार्थका कार्यक्रमहरुलाई पहिल्याउँदै ट्रान्स हिमालय क्षेत्रमा समुदायको विकासका लागि काम अगाडि बढ्ने छ।'
प्रचण्डले चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै विकास र समृद्धिका लागि दुई देशबीचको रणनीतिक साझेदारीलाई अनन्तकालसम्मको मित्रतामा बदल्ने कुरामा जोड दिए। उनले दुवै पक्ष दुई देशबीच भएका सम्झौताको कार्यान्वयनमा अगाडि बढ्नुपर्ने बताए।
नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको भन्दै प्रचण्डले नेपाली भूमि चिनियाँ विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल-चीनबिच ठोस खोप साझेदारी हुनुपर्ने बताउँदै सहयोगका लागि आग्रह गरे। दुई देशका राजनीतिक दलको साझेदारीले कोभिड-१९ विरुद्धको लडाई सफल हुने उनले बताए। उपप्रधानमन्त्री पोखरेलको सचिवालयले नेपालमा बढ्दो कोरोना भाइरसको महामारी, महामारी नियन्त्रण र चीनसँगको सम्बन्धबारे छलफलमा भएको बताएको छ।
कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपाललाई भुपरिवेष्ठित राष्ट्रवाट भू-जडित राष्ट्रमा परिणत गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको स्मरण गर्दै दुई देशबीच विकास साझेदार बनेर अगाडि बढ्ने बताए।
उनले कोभिड-१९ विरुद्धको लडाईमा चीनबाट थप सहयोग हुने अपेक्षा व्यक्त गरे।
