PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना कहरमा तराईका बालबालिका : हुनेले पब्जी खेल्दै, गरिबले तरकारी बेच्दै !



राधेश्याम पटेल

कोरोना कहरमा तराईका बालबालिका : हुनेले पब्जी खेल्दै, गरिबले तरकारी बेच्दै !

वीरगंज : कोरोना कहरमा तराई मधेसका जिल्लाका विद्यार्थीहरुको भविष्य झनै अन्यौल तर्फ धकेलिएको छ। कोरोना महामारीको दोस्रो लहरले पीडित बनेको देशको आधा जनसंख्याको हिसा तराई मधेसमा बसोबास गर्छ। तर पोहोरजस्तै यस वर्ष पनि केही महिनादेखि विद्यालय बन्द हुँदा तराईका ग्रामीण भेगमा शिक्षाको वैकल्पिक व्यवस्था गर्न सकिएको छैन। केन्द्र सरकार, स्थानीय सरकारलगायत सरोकारवाला उदासिन बन्दा उनीहरु शिक्षाको ज्योतिबाट टाढिँदै गएको ग्रामिण भेगका अभिभावकहरुको गुनासो छ। मध्य तराईको अधिकांश जिल्लामा थ्री जी र केही ठाउँमा फोरजी इन्टरनेटको सुविधा छ। तर सबै विद्यार्थीको इन्टरनेटमा पहुँच नहुँदा उनीहरुलाई वैकल्पिक कक्षामा जोड्न सरकारले सकिरहेको छैन।

गाउँका धनी अभिभावकका छोराछोरीहरुले मोबाइल र ल्यापटपमा पब्जी खेलेर दिन बिताउँदै छन् भने गरिब बालबालिकाहरू घरपरिवारका सदस्यहरूलाई व्यापार र घरायसी, कृषि कर्ममा सघाउँदै आएका छन्।

कतिपय बालबालिका अहिले विद्यालय बन्द भएपछि आमाबुबाले गर्दै आएको पसल–व्यापारमा सघाउँदै आएका छन्। साइकलमा घुमेर तरकारी बेच्ने, पसलमा सुर्ती, गुट्खा र किराना समान बेच्ने, बाख्रा चराउने, माछा मार्ने, घरमा खाना पकाउने, भाइबहिनीहरूको हेरचाह गर्ने र खेतीपातीमा सघाउनेजस्ता काम गर्दै आएको गाउँलेहरु बताउँछन्।

केही बालबालिका क्रिकेट, फूटबल जस्ता खेलकुदमा साँझको समय बिताउने गरेका छन्। केही बढी समय फुर्सदको पाएर कुलतमा पनि फसिरहेको ग्रामिग भेग पर्सा, छिपहरमाई झलमहियाका प्रधानाध्यापक चन्द्रभूषण पाण्डे बताउँछन्। करिब ३ महिनादेखि बालबिालकाहरु विद्यालय जान छाडेपछि ग्रामीण क्षेत्रमा यो अवस्था देखा परेको हो।

वीरगंज महानगरका केही निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन रहे पनि १३ वटा पालिकामा अनलाइन कक्षा सञ्चालनमा आउन सकेको छैन। त्यसैगरी बारा, रौतहट, सर्लाहीको अवस्थामा पनि उस्तै रहेको ती जिल्लाका अभिभावकहरुको भनाइ छ।

अधिकांश जिल्लाको पालिकामा शिक्षालाई अघि बढाउने वैकल्पिक व्यवस्थाबारे कुनै छलफल वा योजनाअघि नबढेको स्वयम् जनप्रतिनिधिहरु नै स्वीकार गर्छन्। पर्सा, पकाहामैनपुर गापाका अध्यक्ष विजय चौरसिया वैकल्पिक शिक्षाको बारेमा अहिलेसम्म कुनै सोच अगाडि नबढेको बताउँछन्। उनले गापाका अधिकांश बालबालिकाको पहुँच इन्टरनेट र मोबाइलमा नपुगेको हुँदा गापाले पनि वैकल्पिक शिक्षा प्रदान गर्ने कुरा अगाडि बढाउन नसकेको स्पष्ट पारे।

जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरीयाका प्रधानाध्यापक विनोद चौधरीले नगरपालिकाले वैकल्पिक शिक्षाको बारेमा अहिलेसम्म छलफल नगरेको बताए। उनले नगरपालिकाको शिक्षा शाखाले परीक्षाफल प्रकाशित गर्ने सम्बन्धमा कुन नीति अख्तियार गर्ने भन्नेबारेमा पनि निर्णय नगरेकोले अन्योलको वातावरण रहेको बताए।

आफूहरू गत वर्षसरह नै यस वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट परीक्षाफल प्रकाशित गर्ने अवस्था आइपर्ने हुनाले तयारीमा रहेको बताए। प्रअ चौधरीले नगरपालिकामा इन्टरनेटको पहुँच भएका र मोबाइल, ल्यापटप, कम्प्युटर भएका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिने भए पनि त्यसतर्फ नगरपालिकाले कुनै पहल, निर्देश नगरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell