PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आदर्श मिश्रको शोकमा कलाकारको साथ, ‘एउटा ज्यान गुम्यो, अर्को ज्यान नगुमोस्’



लक्ष्मी बलायर

आदर्श मिश्रको शोकमा कलाकारको साथ, ‘एउटा ज्यान गुम्यो, अर्को ज्यान नगुमोस्’

काठमाडौं : मंगलवार कमेडियन आदर्श मिश्रले बुवा गुमाए। उनको बुवा विनोद मिश्रको मिर्गौलाले काम गर्न छाडेको चार वर्ष भइसकेको थियो। चार वर्षदेखि उनी मिर्गोलाको उपचार गराउँदै आइरहेका थिए। अस्पतालको लापरवाहीले बुवाको मृत्यु भएको आदर्शले आरोप लगाएका छन्।

सोमवार वीरगंजको नारायणी अस्पतालमा उनका बुवाको डायलासिस भएको थियो। तीन घण्टा मेसिनमा जोडिएर रगत सफा गरेपछि जितपुरस्थित घर फर्किएका थिए। तर, अचानक उनको स्वास्थ्य स्थिति बिग्रियो। आदर्शले बुवालाई चितवनस्थित भरतपुर अस्पताल लिएर गए। तर, उनका बुवाले भरतपुर अस्पतालमा नै अन्तिम सास फेरे।

नारायणी अस्पताल, वीरगंजमा सधैँ गर्दै आएको डायलासिस तीन घण्टाको साटो चार घण्टा भएको भए बुवाको ज्यान जोगिने आदर्शले दावी गरे।

हाँस्य कलाकार मनोज गजुरेललाई आदर्शका बुवाको मृत्युको खबरले निकै दुःखी बनाएको छ। विनोद मिश्रलाई उनी प्रतिनिधि पात्र मान्छन्। यसरी अस्पतालको लापरवाही र उपचार नपाएर एउटाको ज्यान गुमे पनि उप्रान्त अरु ज्यान गुमाउन नपरोस् भन्दै राज्यले अझै सचेत हुन आवश्यक रहेको उनी बताउँछन्।

एउटा छोराले बुवाको जीवन बचाउनको लागि गरेको संघर्षहरु सोसल मिडियाबाट आइरहेको र यो कुराले धेरैलाई झक्झकाएको उनको तर्क छ। भन्छन्, ‘आदर्श मिश्रको आँशुले जिम्मेवार ठाउँमा बसेका मान्छेलाई रुवाएन वा झक्झकाएन भने त्यो सत्ता र प्रशासनसँग मुटु छैन भन्ने बुझ्नु पर्छ। एउटा ज्यान गुम्यो गुम्यो, अर्को ज्यान नगुमोस् सरकारको बेलैमा आँखा खुलोस्।’

सम्बन्धित समाचार : बाबु गुमाएपछि आदर्श मिश्रको केपी ओलीलाई चुनौती : मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश

साथै यस्ता घटनालाई गम्भीरताका साथ लिनुपर्ने बताउँछन् गजुरेल।

‘यो एउटा देखिएको घटना मात्र हो। नदेखिएका थुप्रै मिर्गौला पीडितहरु छन्। जसले गरिबीको कारण उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्,’ उनले सुनाए।

त्यसैगरि, संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाले सरकारले स्वास्थ्य क्षेत्रमा तयारी नगरेका कारण धेरैले ज्यान गुमाउनु परिरहेको सुनाए। जसमा आदर्शको बुवा एक उदाहरणीय पात्र मान्छन् उनी।

‘आदर्श बोल्न सक्ने र मिडियामा राम्रो पहुँच भएर यसरी यो घटनाले चर्चा पाएको हो। तर, यस्ता पात्रहरु धेरै छन् जसले बोल्न पनि सक्दैनन्, कतै गुनासो नगरी ज्यान गुमाउनु परेको छ’, उनी भन्छन्, ‘देशको स्वास्थ्य प्रणाली राम्रै छ भन्ने मान्छेलाई बल्ल वास्तविक अवस्था थाहा भएको छ। यो घटनाले सम्रग स्वास्थ्य सिस्टमको नै खिल्ली उडाएको छ।’

मुखले जे पनि भनिदिने तर व्यवहारमा केहि पनि नगर्ने सरकारको अवस्था रहेको उनले बताए। स्वास्थ्य प्रणाली र कोरोनाको विषयमा सरकार गम्भीर नभएको र नेताहरुलाई कुर्सीको मात्र मतलब रहेको उनले उल्लेख गरे। आदर्शको आमा भारतीय भएर मिर्गौला दिन मान्छे भए पनि नेपाली नागरिक नभएर मिलेन भन्ने कुराले निकै दुःख लागेको उनी बताउँछन्।

आदर्श मात्र नभएर धेरै आदर्शका बुवाहरुको अवस्था एउटै रहेको सुनाउँछन् कलाकार तथा निर्देशक दीपकराज गिरी। नेपालमा सजिलैसँग बाँच्न तीन कुरा आवश्यक मान्छन् उनी- पावर, पँहुच र पहिचान।

यी तीन कुरा भएको व्यक्तिको लागि यो देश स्वर्ग समान छ। तर, सामान्य जनतालाई भने उपचार पाउन समेत गाह्रो रहेको उनले बताए।

‘यो कुरा सामाजिक सञ्जालमा आएर थाहा भयो। हाम्रो जस्तो देशमा यस्तो समस्या जताततै छ। खोपकै कुरा गरौँ, कसैले दुईटा खोप पनि लगाइसके तर कसैलाई थाहा पनि छैन। इन्टरनेटमा खोपको फर्म भर्ने तरिका समेत थाहा छैन। स्वास्थ्य क्षेत्रमा असमानताका कुराहरु धेरै छन्,’ उनले पहिलोपोष्टसँगको कुराकानीमा भने।

हाम्रो राज्य निकै कमजोर भएर यस्ता घटनाहरु भोग्नु परेको उनको तर्क छ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फेसबुकमा स्टाटस लेख्दै डायलासिस चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह रहेको बताएका छन्।

उनी लेखेका छन्, ‘सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउँमा पुर्‍याउन सकेको भए। हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ। डायलासिस समयमा गर्न नसक्नु भनेको, चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो।’

साथै, आफ्नो घरमा पनि डायलासिसको बिरामी भएकाले यस्तो अवस्थामा परिवारलाई निकै कठिन हुने समेत सुनाए।

‘सायद, त्यो बिग्रेको मेसिन समयमा नै बनाउने प्रशासन भएको भए, सायद कोभिड मात्र हैन अरु रोग पनि छ जसले अप्ठ्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले नै बुझेको भए आज उसलाई सहानुभुतिको आवश्यकता पर्ने थिएन होला,’ उनले लेखेका छन्।

निश्चलले अभिभावक गुमाउनुको पीडा आफूले सम्झिन पनि नसक्ने भन्दै आदर्शले त्यो भोगिरहेको बताएका छन्। गैर जिम्मेवार नेतृत्वले बिग्रेको व्यवस्थाका कारण कैयौँ यस्ता घटना घटिरहेको र आफू पनि कहिले यही व्यवस्थाको शिकार हुन्छु भनेर डर लागेको समेत उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell