PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेपाल समूहका १५ नेताको ओलीलाई जवाफ : निरंकुश शैलीले कारबाहीको डण्डा चलाइयो, अब निर्णायक कदम



पहिलोपोस्ट

नेपाल समूहका १५ नेताको ओलीलाई जवाफ : निरंकुश शैलीले कारबाहीको डण्डा चलाइयो, अब निर्णायक कदम
फाइल फोटो

काठमाडौँ: नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र मावधकुमार नेपाल समूहका १५ नेताहरुले ओलीविरुद्ध निर्णायक कदम चाल्ने बताएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै १५ स्थायी कमिटी सदस्यहरुले एकतावद्ध संघर्ष आवश्यक भएको बताएका हुन्।

'प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ। यसका लागि हामी तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं,' विज्ञप्तिमा भनिएको छ।

पार्टीका नेताहरुमाथि निरंकुश र हैकमवादी शैलीले पटक–पटक कारबाहीको डण्डा चलाइएको उनीहरुको आरोप छ।

फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित भएपछि नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान कुल्चँदै २८ गते भेला गरेर मनपरि निर्णय गरेको नेपाल समूहका नेताहरुको आरोप छ।

'मनपरि किसिमले केन्द्रीय कमिटी भंग गर्ने, महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने र पार्टी सदस्य नभएकाहरुलाई जिम्मेवारी दिनेजस्ता अवैध निर्णय गरियो,' विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलामतो गरी आफैँलाई प्रधानमन्त्री घोषित गर्नुका साथै फेरि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक काम गरेको उनीहरुको भनाई छ।

प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरुसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न आफूहरु बाध्य भएको नेपाल समूहका नेताहरुको दाबी छ ।

'फुट र अराजकताको बाटो समात्ने, देशमा जताततै अस्तव्यस्त स्थिति सिर्जना गर्ने र राष्ट्रिय हित तथा स्वाभिमान विपरीतका क्रियाकलाप गर्ने र यस्ता काम कुराको विरोध गर्दा कारबाही गर्ने कार्य भएका छन्,' विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा वरिष्ठ नेताहरु  झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य,गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल,अमृत कुमार बोहरा र प्रमेश हमालले हस्ताक्षर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell