PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

घरेलु तथा साना उद्योगलाई आवश्यक सहयोगको कार्यक्रम ल्याउन सरकारसँग माग



पहिलोपोस्ट

घरेलु तथा साना उद्योगलाई आवश्यक सहयोगको कार्यक्रम ल्याउन सरकारसँग माग

हेटौँडा : मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड-१९)का कारण गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण घरेलु तथा साना उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।

संघका महासचिव कुमार पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करिब डेढ वर्षको कोभिड-१९ का कारण भएको लकडाउनले घरेलु तथा साना उद्योगी आफ्ना व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले सरकारले आफूहरु लक्षित ठोस कार्यक्रमहरु ल्याउन माग गरेका हुन्।

विज्ञप्तिमा नेपाल सरकारले तोकेको भन्सार तिरी कच्चा पदार्थ बाहिरी देशबाट समेत आयात गरी तिनै देशहरुमा उत्पादित वस्तुको मूल्यसँग प्रतिस्पर्धा गर्दै उद्योग सञ्चालन गर्नु परेको चुनौतीपूर्ण अवस्थामा घरेलु तथा साना उद्योगीहरु कोरोनाको माहामारीबाट थप प्रताडित बन्न पुगेको उल्लेख छ।

यस्तै, सरकारले आफूहरुको समस्या सुनुवाई नगरेको भन्दै विज्ञप्तिमा आफ्नो पेशालाई निरन्तरता दिन आफ्नो जायजेथा बैंकमा राखी ऋण लिई उद्योगहरु सञ्चालन गरिरहेका धेरै घरेलु तथा साना उद्योगहरु ऋणको ब्याज मात्र होइन साँवा पनि तिर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ।

सरकारले लकडाउन भरी ऋणको ताकेता नगर्नु भनी बैंकहरुलाई परिपत्र गरेको भएतापनि त्यसको खासै असर आफूहरुले नदेखेको विज्ञप्तिमा लेखिएको छ।

‘लकडाउन खुकुलो हुनासाथ बैंकको किस्ता, ब्याज, बत्ती, पानी, भाडा र श्रमिकको पारिश्रमिक कसरी बुझाउने भन्ने सोच र चिन्तामा व्याकुल साना उद्योगीहरुलाई आफ्नो उद्योग टोक्नु न बोक्नु अवस्थामा पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

घरेलु तथा साना उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याज, बत्ती, पानी, घरभाडामा विशेष सरकारी प्याकेजको खाँचो परेको अवस्थामा पनि आमनागरिकको जीवन जोगाउन व्यक्तिगत वा समूहगत रुपमा सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेकोबारे जानकारी गराइएको छ।

कोभिडका कारण लागू गरिएको निषेधाज्ञाका कारण हाल प्रायः सम्पूर्ण उद्योग बन्द रहेकाले सरकारले ठोस नीति नल्याएमा धेरै साना उद्योगहरु सधैंका लागि बन्द हुने हुँदा सम्बन्धित निकायलाई ध्यान दिन माग गरिएको छ।

अहिले कोरोनाको कहरमा उपचारको निम्ति अस्पतालमा बेड नहुनु, आइसीयू, अक्सिजन अभाव हुनु तथा खोपको पर्याप्त उपलब्धता गराउनुपर्नेमा सरकार तथा राजनीतिक दलहरुको प्रभावकारी भूमिका नखेलेको बताउँदै सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य उपचारमा लगाउन ध्यानाकर्षण गराउँदै घरेलु उद्योगी व्यवसायीहरुलाई खोपको व्यवस्था मिलाउन पनि महासचिव पौडेलले विज्ञप्तिमार्फत माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell