PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सडकमा जानुपर्छ भन्नेलाई रोकिराखेको देउवाको भनाई, महाधिवेशनबारे बोले : कोभिड आइदियो त के गर्ने?



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सडकमा जानुपर्छ भन्नेलाई रोकिराखेको देउवाको भनाई, महाधिवेशनबारे बोले : कोभिड आइदियो त के गर्ने?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन सदर गरी नहुनी काम गरेको आरोप लगाएका छन्। बिहीवार प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै देउवाले उक्त आरोप लगाएका हुन्।

'मध्यराति प्रतिनिधिसभा विघटन भयो। नहुनी कुरा गर्नुभयो राष्ट्रपतिले,' देउवाले भने। विपक्षी दलको नेतृत्वमा संविधानको धारा ७६(५) बमोजिम देउवाले प्रधानमन्त्री पदमा १४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपनि राष्ट्रपतिले उक्त दाबी नपुगेको भन्दै प्रतिनिधिसभा विघटन गरेकी थिइन्। जेठ ७ को उक्त कदमविरुद्ध विपक्षी दलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

'असंवैधानिक कदम चालेका छन् ओलीले। मनपरी तन्त्रविरुद्ध लड्न अदालत गएका छौं। अदालतबाट न्याय मिल्छ भन्ने आशा छ,' देउवाले भने।

कोभिडले अहिले भयानक अवस्था आएकाले कांग्रेस जनतामा जान नसकेको उनले बताए। यस्तो अवस्थामा सडकमा गएर अपराध गर्न नहुने समेत उनको भनाई थियो।

'कोभिडकाका कारण जनतामा जान सकेका छैनौं। मिडियाले जनमत सिर्जना गरिदिनुपर्‍यो,' देउवाले भने, 'सडकमा गएर अपराध गर्नुहुँदैन अहिले।'

पार्टीका केही साथीहरुले सडकमा जाउँ भने पनि आफूले रोकिराखेको देउवाको भनाई थियो।

'केही साथीहरुले जाउँ आन्दोलन गरौं भनेका छन्। मैले रोकिराख्य छु,' उनले भने, 'त्यसका लागि म दु:खी छु। अहिले जनताको जीवन ठूलो हो।'

पार्टीको महाधिवेशनबारे उठेको प्रश्नमा देउवाले आफू कलंकको टीका नलगाउने पक्षमा रहेको बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने, 'कुनै किसिमको अधिवेशन शेरबहादुरले गरेन भनेर कलंक म कुनै हालतमा टाउकोमा राख्न चाहन्न।'

पौडेलप्रति आक्रोशित हुँदै उनले थपे, 'पार्टीको अधिवेशन हुनुपर्छ भन्नेमा म तपाईँभन्दा अगाडि छु। तपाईँमात्र लड्या मान्छे हो? कोभिड आइदियो के गर्ने? सल्लाह गरौं न मलाई केही छैन।'

कांग्रेसको १४ औं अधिवेशन भदौ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा तोकिएको छ। कोरोना महामारीका कारण यसपटकको महाधिवेशन पनि अनिश्चित हुने देखिएपछि नेताहरुले प्रश्न उठाउन थालेका छन्।

सम्बोधनकै क्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कांग्रेसका सभापति देउवा निर्दलीय व्यवस्थाको खोजीमा लागेको आरोप लगाएका थिए। जवाफमा देउवाले बस्नेतलाई संविधान पढ्न आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell