PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दाइजोको कुसंस्कार : १४ लाखले भरिएन सासु-ससुराको मन, श्रीमान् परस्त्रीसँगको सम्बन्धमा, घरमा सोनीमाथि निर्घात कुटपिट



राधेश्याम पटेल

दाइजोको कुसंस्कार : १४ लाखले भरिएन सासु-ससुराको मन, श्रीमान् परस्त्रीसँगको सम्बन्धमा, घरमा सोनीमाथि निर्घात कुटपिट

२५ वर्षीय सोनी कुमारी गत आइतवारदेखि डेढ वर्षको छोरो च्यापेर बसेकी छिन्। वीरगंज-१४ सानो पिपरास्थित उच्च अदालत जनकपुर अस्थायी इजलासको भवन अगाडि बनेको दुई तल्ले घरमा उनी र छोरामात्र बसेका छन्।

घरमा कोही छैनन्। खानेकुरा छ तर दराजमा। सासु-ससुराले ताला लगाए, चाबी दिएनन्। ठूलो पिपरामा बस्ने ठूली दिदीका छोराहरूले खानेकुरा नल्याइदिएसम्म भोकै पर्छन् सोनीका आमा-छोरा।

भारतको बिहारस्थित पूर्वी चम्पारण अरेराजकी हुन् सोनी। विवाह गरेर वारि आएकी। माइती देश छाड्नुअघि सुखद् वैवाहिक जीवनको सपना साँचेकी थिइन् उनले। तर, त्यसो भएन।

श्रीमान् र उनको परिवारले सोनीलाई यातना दिएको खबर सार्वजनिक भयो। लगत्तै एउटै परिवारमा बस्दै आएका दुई जना फरार भए। चार जना हिरासतमा पुगे।

घटना शुक्रवार राति ९ बजेको हो। सोनीको कोठामा जडित सिलिङ फ्यान श्रीमान् पक्षले निकालदिए। कारण - बिजुलीको पैसा बढी उठ्छ भनेर।

सोनीको काखे छोरो गर्मीकै कारण मध्यरातसम्म निदाएन। उनी तल्लो तलामा टेबल फ्यान लिन गइन्। बदलामा पाइन - सासुको गाली।

सासुले भनिन्, ‘तेरो बुवासँग मगाएर सुत्। दाइजोमा केही नल्याउने अनि सबै सुख तिमीहरूलाई मात्रै चाहिने?’

सोनीले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, ‘त्यसपछि झगडा शुरु भयो। पहिले त मुखामुख मात्र भएको थियो। पछि लाठी, मुक्का र लात प्रहार भयो।’

सोनीको हातमा ७ वटा टाँका लगाउनुपर्‍यो।

दिदीमाथि कुटपिट भएको खबर पाएपछि भोलिपल्ट उनका भाइ बिटु कुमार नेपाल आए। कुराकानी सुरु गर्नासाथ उनीमाथि रड बज्रियो। टाउको फुट्यो। रगताम्य बिटुलाई एलएस न्यूरो अस्पताल पुर्‍याइएको छ। उनको अवस्था गम्भीर छ।

सोनीका घाइते भाइ बिटु

त्यसपछि सोनी र उनका भाई बिटु कुमारलाई कुटपिट गरेको आरोपमा पर्सा प्रहरी मातहतको वडा प्रहरी कार्यालय श्रीपुरका टोलीले गत शनिवार ५७ वर्षीय ससुरा मुनीलाल साह तेली, देवरहरू २० वर्षीय दिवाकर साह र २२ वर्षीय प्रभाकर साह र २५ वर्षीया नन्द अनिता कुमारीलाई नियन्त्रणमा लियो। उनीहरूमाथि अनुसन्धान जारी छ।

सोनीका ३२ वर्षीय श्रीमान् अनिल साह तेली र ४८ वर्षीय सासु सुगन्धी देवी भने घटनालगत्तै फरार छन्।

तीन वर्षअघि १४ लाख दाइजो लिएर नेपाल भित्रिएकी थिइन् सोनी। वीरगंज-१४ सानो पिपराका अनिल साह तेलीसँग उनको मागी विवाह भएको थियो। विवाहको एक महिनापछि नै दाइजोको विषयमा पति-पत्नीबीच मनमुटाव शुरु भयो। कारण - पर्याप्त दाइजो नल्याउनु, घरको काम गर्न नआउनु।

उनको बुवा बितेपछि आमाको चरित्रमाथिको प्रश्न पनि खेपिन् उनले। डेढ वर्षअघि पनि घरासयी विवाद बढ्दै गएपछि श्रीमान् र परिवारका अन्य सदस्य मिलेर ज्यान लिने कोसिस गरेको उनी बताउँछिन्।

‘त्यतिबेला कुटपिट गरी बेहोस् भएकी थिइन्। पंखाको पासोमा बाँधेर मार्ने प्रयास गरे,’ सोनीका अर्का भाइ अशोक बताउँछन्।

त्यसअघि पनि सोनीलाई घर निकाला गर्न खोजिएको थियो। त्यतिबेला उनका श्रीमान् अनिलले आफूले बुवासँग ५ लाख रुपैयाँ लिइसकेको र अब बुवा र भाइहरुको सम्पतिमा कुनै हक भोग नभएको बताएका थिए। जबकी गाउँमा ससुरा पक्षको तीन चार विघा जग्गा रहेको सोनी बताउँछिन्।

‘मेरो अंश मार्न मेरो विवाह दर्ता र नागरिकता बनाइएको छैन’, उनले भनिन्, ‘अंशबण्डा छुटयाइएको छ। पर्सा जिल्ला अदालतमा माना चामलको मुद्दा दिएपछि अदालतको आदेशमा पोहोर दशैंको घटस्थापनाको दिन श्रीमानको घरमा गएको हुँ।’

सोनीको नाडीमा लागेको चोट।

त्यसपछि आफू घर न घाटको भएको उनी सुनाउँछिन्।

‘श्रीमानले सबै हकभोग मागेर घरबाट निकाल्ने तर घर आउँदा कसैको माया नपाउने। उल्टै ज्यान मार्ने सासु-ससुरा। यस्तो अवस्थामा पनि मैले हिम्मत हारेको छैन,’ उनी बताउँछिन्।

श्रीमानले अर्की महिलासँग सम्बन्ध राखेपछि घरको माहोल बिग्रिएको सोनीको दावी छ। सोनीका श्रीमान् अनिल वीरगंज जेलरोडस्थित फलफूलका थोक बिक्रेता हुन्। विवाह भएर एउटा छोरा जन्मिएपछि उनी वीरगंजमै बस्दै आएकी महिलासँग सम्बन्धमा रहेको र घरतिर मतलव नगरेको उनको आरोप छ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेकोले उनी आशावादी छिन्। उनी घाइते भए पनि न्यायको यात्रामा हिम्मत हारेकी छैनन्, नावालक छोरोसहित न्यायको संघर्षमा छिन्।

पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले घटनाको बारेमा अनुसन्धान जारी रहेको बताए। दोषीलाई कानुन बमोजिम कारबाही हुने पाण्डेको प्रतिवद्धता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell