PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा कडाइ : रोकिए आयल निगमका कर्मचारी, इन्धन आपूर्ति रोकिने चेतावनी



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा कडाइ : रोकिए आयल निगमका कर्मचारी, इन्धन आपूर्ति रोकिने चेतावनी

काठमाडौं : सडकमा खटिएका सुरक्षाकर्मीले काठमाडौं उपत्यकाभित्र आजबाट थप निषेधाज्ञा कडाई गरेको भन्दै अत्यावश्यक वस्तु ग्यास र पेट्रोलियम ढुवानीका साधनलाई समेत रोक्न थालेको छ।

उपत्यकाका विभिन्न स्थानमा ग्यास बोकेका डेलिभरी भ्यान रोकिएका छन् भने आयल निगमका कर्मचारी समेत आफ्नो कार्यक्षेत्रमा आउन पाएका छैनन्।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थको आपूर्ति मिलाउनुपर्ने कर्मचारी समेत ठाउँठाउँमा रोकिएको बताए।

‘हाम्रा ३०/४० जना कर्मचारी बाटैमा रोकिनुभएको छ। यसरी कर्मचारी रोक्दा इन्धन आउन सक्दैन,’ उनले भने, ‘कर्मचारी रोकिएको बारे कहाँ भन्ने? सुरक्षा निकायले आफ्नो तजविजीमा काम गरिरहेका छन्।’

अहिले उद्योग तथा वाणिज्य मन्त्रालय नेतृत्वविहीन छ। मन्त्रालय नेतृत्वविहीन भएकाले समेत सुनुवाइका लागि ठाउँ नभएको हो। पौडेलले पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोकेमा आपूर्ति श्रृङ्खला नै प्रभावित बन्ने बताए।

‘अहिलेको कठिन परिस्थितिमा समेत पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको थियो। तर, यसरी रोकेमा बिक्री वितरण नै रोकिने अवस्था आउँछ,’ उनले भने, ‘यो समस्या तत्कालै समाधान गर्न आवश्यक छ।’

आपूर्ति व्यवस्था सहज बनाउन निगम र व्यवसायीले मिलेर कोरोनाको पहिलो र दोस्रो लहरमा काम गरेका थिए।

पहिलो लहरमा निगमका कार्यकारी निर्देशक पौडेल, उपभोक्ता हित संरक्षण विभाग र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले बजार अनुगमन गरेर ग्यास अभाव हुन दिएका थिएनन्। कडा निषेधाज्ञामा पनि ग्यास बिक्री वितरण सहज बनाउन निगमले पास उपलब्ध गराएको थियो। त्यो पास लिएका सवारी साधन पनि अहिले रोकिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले भने निगमका कुनै पनि कर्मचारीलाई नरोकेको दावी गरे। ' निगमका कर्मचारीलाई कतै पनि रोकेका छनौं। कुनै ठाउँमा त्यस्तो भएको भए जानकारी गराउनु होला,' एसएसपी भट्टराइले भने।

नेपाल ग्यास उद्योग संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेले आफ्नो चार वटा ग्यास बोकेका गाडी र ग्यास उद्योगमा काम गर्ने कर्मचारीलाई सुरक्षा निकायले रोकेको बताए।

‘पेट्रोलियम पदार्थको काम गर्ने संचालक, कर्मचारी र मजदुरले ज्यानको बाजी लगाएर काम गरिरहेका थिए। यो कठिन परिस्थितीमा काम गरिरहेका कर्मचारीलाई हत्तोसाहित गरिएको छ,’ उनले भने, ‘अब हामी ग्यास बिक्री बन्द गर्छौं। सरकारलाई जहिले चाहिन्छ भन्छ त्यही बेलामा बिक्री थालौला।’

उनका अनुसार राती ९ बजेदेखि बिहान ९ बजेसम्म ग्यास ढुवानी गर्नुपर्ने निर्णय अव्यवहारिक हो। ‘राती ग्यास पसलेलाई उठाएर कसरी ढुवानी गर्नु? कर्मचारीलाई कसरी काममा लगाउनु?,’ घिमिरेले प्रश्न गर्दै भने, ‘राती कुन बैंक खुल्छ त्यसपछि बिक्रीपछि आएको पैसा जम्मा गर्नु?’  ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले सरकारले ग्यास बिक्रीनै रोक्न खोजेको बताउँदै त्यसले उपभोक्तालाई सास्ती मात्रै हुने बताए।

'सरकार र  कर्मचारीतन्त्रले अत्यावश्यक वस्तुको संवेदनशीलतानै बुझेन्। यसले धेरै ठूलो समस्या ल्याउँछ,' उनले भने।

उपत्यकामा दैनिक ४० हजार ग्यास सिलिण्डर बिक्री हुन्छ। ३५ वटा ग्यास बुलेट आवातजावत हुन्छ। त्यो उद्योग दिउँसो संचालनमा गर्नुपर्ने भएकाले उद्योगका प्राविधिक कर्मचारी र अप्राविधिक कर्मचारी आवतजावत गर्नुपर्ने उद्योगी घिमिरे बताउँछन्। 'कर्मचारी र  कामदार हिँड्न नपाए उद्योग चलाउन सकिँदैन,' उनले भने।

प्रहरीले भने स्थानीय प्रशासनले रोक लगाएकाले ९ बजेपछि ग्यास ढुवानी गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell