PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बीस मिनेट बिजुली जाँदा 'हाइ फ्लो' अक्सिजनकै भरमा उपचार गराइरहेका सुत्केरी सहित ६ जनाको मृत्यु



रिना थापा

बीस मिनेट बिजुली जाँदा 'हाइ फ्लो' अक्सिजनकै भरमा उपचार गराइरहेका सुत्केरी सहित ६ जनाको मृत्यु

पोखरा :  पोखरामा हाइ फ्लोमा अक्सिजन दिन नसक्दा सुत्केरीसहित ६ जनाले ज्यान गुमाएका छन्।

कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो अस्पतालमा बिहीवार अचानक अक्सिजन आपूर्तिमा समस्या भएको थियो। अक्सिजन आपूर्तिमा समस्या भएपछि हाइ फ्लोमा अक्सिजन दिएर उपचार भइरहेका बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।

बिहीवार अक्सिजन आपूर्तिमा समस्या भएकाले हाइ फ्लोमा अक्सिजन विरामीलाई नियमित भएन। अस्पतालले विद्युत समस्याका कारण हाइ फ्लोमा राखिएको बिरामीलाई अक्सिजन पर्याप्त मात्रमा पुर्‍याउन नसक्दा यस्तो अवस्था आएको जनाएको छ। बिहीवार साँझदेखि शुक्रबार बिहानसम्म यसैका कारण तनहुँका ३ जना, स्याङ्जा,म्याग्दी र पर्वतका १-१ जना गरी ६ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा १ जना ५ दिनकी सुत्केरी महिला पनि छिन्।

मृतकका आफन्तले अस्पतालमा अक्सिजन अभाव भएका कारण मृत्यु भएको बताए। मृतकका आफन्तले बिहीवार अक्सिजन खोज्नका लागि पहल समेत गरेका थिए। कोभिड १९ उपचारका फोकल पर्सन डा. शरद बरालले अक्सिजन प्लान्टमा केही समय लाइन गएकै कारण अस्पतालमा  अक्सिजन समस्या आएको बताए।

हाइ फ्लोमा राखिएको बिरामीलाई सहज रुपमा अक्सिजन आपूर्ति नहुँदा मृत्यु भएको डा. बरालले स्वीकार गरे।

'हिजो बिद्युतको आपूर्ति २० मिनेट बन्द हुँदा त्यसको क्नसिक्वेन्स बढ्यो। २० मिनेट बत्ती जाँदा अक्सिजन मेसिन सुरु गर्न २०/२५ मिनेट लाग्छ,' डा. बरालले भने, 'त्यो समस्याले गर्दा अलिकति जटिलता उत्पन्न भयो। अक्सिजन नै स्टक आउट भएको होइन।'

बरालका अनुसार मृत्यु हुनेमा दीर्घ रोगी भएका जटिल बिरामी छन्।

हाइ फ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिन्छ। त्यस्ता बिरामीलाई अलिकति अक्सिजन कम हुनेबित्तिकै जोखिम हुने उनले जानकारी दिए। अहिले क्षेत्रीय अस्पतालमा पोखरा अक्सिजन प्रालिले दैनिक २५० देखि ३०० सिलिन्डर आपूर्ति गर्दै आएको छ। अस्पतालकै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्ति हुँदै आएको हो।

पछिल्ला केहि दिनयता पोखरामा अक्सिजनको माग बढेको पोखरा अक्सिजन प्रालिका निर्देशक दीपक भण्डारीले बताए। यतिबेला पोखरासहित दमौलीमा र अन्य स्थानबाट अक्सिजनको हाइ डिमाण्ड भइरहेको उनले जानकारी दिए। एक्कासी अक्सिजनको माग बढेपछि आफुहरुलाई आपूर्तिमा समस्या भएको उनको भनाई छ ।

यही अनुरुप अक्सिजनको माग भएमा अक्सिजन आपूर्तिमा समस्या हुने कम्पनीले जनाएको छ। यद्यपि, आज बिहानदेखि भने अक्सिजनको माग पुन: घटेको छ।

भण्डारीका अनुसार कम्पनीमा बिहीवार बिद्तयुकै कारण समस्या आएको थियो।

'हिजो बढीमा १० मिनेट लाइन गएको थियो। त्यसले मेसिन संचालन गर्न पुन: १०/१५ मिनेट लाग्छ,' उनले भने, 'त्यस अवधिमा हामीले १८ वटा अक्सिजन सिलिन्डर भर्छौ।"

भण्डारीका अनुसार अझै पनि सिलिन्डर अभाव देखिएको छ। व्यक्तिले राखेको सानो सिलिन्डर कम्पनीलाई दिए यसले अक्सिजन सप्लाई केहि सहज हुने भनाइ उनको छ।

कम्पनीले दिएको जानकारी अनुसार पोखरामा सबैभन्दा बढी अक्सिजन सप्लाई हुने अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हो। पोखरामा दैनिक १४ सय सिलिन्डरसम्म अक्सिजन उत्पादन भइरहेको छ। उक्त ग्यास सिलिन्डरको आपूर्ति कसरी भइरहेको छ त्यसको सही तथ्यांक भने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell