PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो : भेरी अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कडा कारबाही होस्



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयले भन्यो : भेरी अस्पतालमा चिकित्सक कुटपिट गर्नेलाई कडा कारबाही होस्

काठमाडौं : भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि कुटपिट गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना संकटको समयमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल उच्च राख्ने वातावरण बनाइदिन अनुरोध गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको हो।

'नेपाल सरकारले तोकेको उपचार निर्देशिका अनुसार उपचार गरिरहेको भेरी अस्पताल, नेपालगञ्जका स्वास्थ्यकर्मी माथि गए राति भएको दुर्व्यवहारप्रति स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी कहीँ कतै कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छिङ्खल तथा गौर कानुनी अमानविय गतिविधिहरु शून्य सहनशीलता राखी कोभिड १९ संकट व्यवस्थापन अध्यायदेश, मुलुकी फौजदारी कार्यविधि ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्था सुरक्षासम्बन्धि ऐन आदि अनुसार कडा भन्दा कडा कारबाहीको प्रवन्ध गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बिहीवार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमण गरेका थिए। मृतकका आफन्तबाट भएको आक्रमणमा परी ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ। आईसीयू कक्षमै नर्सहरुमाथि हातपात भएपछि ज्यान जोगाउन नर्सहरु छतबाट हाम्फालेका थिए।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ। मृतकको कुरुवासमेत रहेका मानबहादुर रावत सहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पतालका सूचना अधिकारी डा संकेतकुमार रिसालले जानकारी दिए।

घटना लगत्तै प्रहरीले मानबहदुरसहित ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले पनि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरेर अनुसन्धान सुरु गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell