PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

किन भइरहेको छ राष्ट्रपति भण्डारीको ट्वीटको विरोध ?



किन भइरहेको छ राष्ट्रपति भण्डारीको ट्वीटको विरोध ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ट्वीट गर्दै कोभिड १९ महामारीमा जीवन जोखिममा राखेर संक्रमितको उपचारमा खटिरहेका चिकित्सक तथा नर्सप्रति भएको आक्रमणप्रति खेद प्रकट गरिन्। बिहीबार भेरी अस्पतालमा एक संक्रमितको मृत्यु भएपछि केही व्यक्तिहरुहरुले नर्स र चिकित्सकमाथि हातपात गरेका थिए। उक्त आक्रमणप्रति दु:ख जनाउँदै राष्ट्रपति भण्डारीले ट्वीट गरेकी हुन्।

तर, हाल सामाजिक संजालमा उक्त ट्वीटको विरोध भइरहेको छ। भण्डारीले ट्वीटमा 'दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ' भनेर उल्लेख गरेकी छिन्। सामाजिक संजाल प्रयोगकर्ताहरुले यही वाक्यलाई लिएर राष्ट्रपतिको विरोध गरिरहेका हुन्।

बिहीबार भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्ने व्यक्तिमा नेकपा एमाले प्रदेश कमिटीका नेता समेत छन्। प्रहरीले घटनामा संलग्नमध्ये मानबहादुर रावत, भरत र लोकराज रावतलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। उनी लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल विश्वासिला व्यक्ति र प्रधानमन्त्री ओली निकट नेता मानिन्छन्। त्यसैले राजनीतिक पहुँच भएकोले उनीविरुद्ध कारवाही नहुने हो कि भनेर शंका समेत गरिएको छ।

स्वास्थ्यकर्मीहरु सशंकित भइरहेको बेला राष्ट्रपति भण्डारीले 'दु:खको बेला भावनात्मक उत्तेजनामा' आएर आक्रमण गरेको हुन सक्ने अनुभूत हुने ट्वीट गरेपछि विरोध भएको हो। सामाजिक संजाल प्रयोगकर्ताहरुले राष्ट्रपतिबाट नै आरोपतिहरुलाई बचाउने प्रयास सुरु भएको हो कि भन्दै प्रश्न उठाएका छन्।

 

धेरैले राष्ट्रपतिले 'गैरजिम्मेवारपूर्ण अभिव्यक्ति' दिएको भन्दै राष्ट्रपतिको ट्वीटलाई रिट्वीट गरिरहेका छन्। उनीहरुले दु:ख परेको बेला उत्तेजनामा आएर गरिएको भनेर अपराधलाई दबाउने र लुकाउन कार्य नहोस् भनिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell