PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

छानीछानी एमाले नेता कार्यकर्तालाई मात्र 'कोभिसिल्ड'को दोस्रो डोज! प्रदेश मन्त्री राईको विरोधमा खोप केन्द्रमै उत्रिए स्थानीय



अनन्तराज न्यौपाने

छानीछानी एमाले नेता कार्यकर्तालाई मात्र 'कोभिसिल्ड'को दोस्रो डोज! प्रदेश मन्त्री राईको विरोधमा खोप केन्द्रमै उत्रिए स्थानीय

विराटनगर : सामाजिक विकास मन्त्री उषाकला राईले पार्टी समर्थक र केही उद्योगपतिलाई लुकाएर कोभिसिल्डको दोस्रो डोज दिन लाग्दा स्थानीय वासीले खोप केन्द्रमा अवरोध पुर्‍याएका छन्।

एमाले समर्थक कार्यकर्ताले विराटनगरको तीन पैनी चौकमा पर्ने सिटी सिनेमा हलको गेटमा ताल्चा लगाएर गेटबाट मान्छे छान्दै खोपका लागि भित्र पठाउँदै गर्न थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन्।

दिउँसो १ बजे खोप लगाउन सुरु गरेपछि मन्त्री राईले व्यक्तिगत रूपमा निम्त्याएका केही उद्योगी–व्यवसायी गाडी लिएरै सिटी सिनेमाहलको गेटसम्म पुगेका थिए।

सिटी सिनेमाअगाडि अप्रत्याशित रूपमा प्राइभेट गाडीको लर्को बढेपछि स्थानीय वासीले चासो लिएर के भइरहेको छ भनेर सोधखोज गरेका थिए।

दोस्रो चरणको खोप हान्न आउनेमा एमाले समर्थित विभिन्न कर्मचारी सङ्गठनका सदस्य तथा पदाधिकारी, एमाले समर्थक सर्वसाधारण र केही छानिएका उद्योगपति–व्यापारी थिए।

स्थानीय वासीले बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने गाडी १ घण्टाजति सिनेमा हलकै प्राङ्गणमा रोकेर राखेका थिए। साथै गाडीमा रहेका ४ खोपकर्मीलाई पनि स्थानीय वासीले रोकेका थिए।

प्रहरीले केही प्रदर्शनकारीलाई सम्झाएर तथा केहीलाई सामान्य बल प्रयोग गरेर गाडी तथा खोपकर्मीको उद्धार गरेको थियो।

खोप प्राविधिक हरि घिमिरेले आफूलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानू भनी आदेश गरेको हुँदा टिमसहित आएको बताए। उनले १ सय ५० जनालाई खोप दिइएको जानकारी दिए।

खोप दिन सरकारी ठाउँ र स्वास्थ्य केन्द्र विराटनगरमा पर्याप्त हुँदाहुँदै निजी क्षेत्रको सिनेमा हललाई किन प्रयोग गरियो भन्ने प्रश्नको उत्तर दिन सरकारी अधिकारीले चाहेका छैनन्।

प्रदेश १ का प्रमुख सचिव सुमनराज आचार्य, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की, प्रवक्ता कृष्ण पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहता र सूचना अधिकारी धरणि निरौलाले आफूलाई घटनाका बारेमा केही थाहा नपाएको भन्दै पहिलोपोस्टको टेलिफोन सम्पर्क विच्छेद गरे।

सामाजिक विकास मन्त्रालयको स्रोतअनुसार उक्त खोप दिने कार्यक्रम पहिले मुख्यमन्त्रीको कार्यालय राखिएको थियो। तर उक्त स्थानको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सिटी सिनेमा छानिएको थियो।

सिटी सिनेमा एमालेसित नजिक तथा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको लगानी छ।

‘मलाई त्यही ठाउँमा खोप किन दिइयो भन्ने थाहा छैन’, प्याकुरेलले पहिलोपोस्टलाई भने, ‘मेरो लगानी भए पनि म त्यहाँको व्यवस्थापनमा संलग्न छैन। के भएको हो म पनि बुझ्दैछु।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष खड्काले सिटी सिनेमामा केही अशान्तिजस्तो देखिएकोले प्रहरीले सुरक्षा प्रदान गरेको बताए।

‘खोप कसलाई कसले हान्यो हामीलाई थाहा भएन’, प्रहरी उपरीक्षक खड्काले भने, ‘हाम्रो काम सबैलाई सुरक्षा दिने हो। सुरक्षा दिएका हौँ।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यसअघि विराटनगरका केही उद्योगपतिलाई घरघर गएर कोभिसिल्डको दोस्रो खोप उपलब्ध गराएका थिए। यस पटक मन्त्री उषाकला राईले गराएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell