
काठमाडौंः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले २०२१ भित्रै लक्षित वर्गलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाइसक्ने बताएका छन्।
स्वास्थ्य पत्रकार संघले गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले विभिन्न राष्ट्रको अनुदान तथा खरिद गरेर उपलब्ध गराउने बताए। 'हामी अनुदानको मात्र कुरा गरेका छैनौँ खरिद पनि गर्छौँ। हामीसँग स्रोतको अभाव छैनौँ। हामीसँग वडा तहमा सञ्जाल छ,' उनले भने, 'यो कुरा भ्याक्सिनको उपलब्धतामा निर्भर पर्छ। हामीले किन्ने हो। उत्पादकले उत्पादन र वितरण कसरी गर्छ। त्यसमा भर पर्छ।'
मन्त्री ज्ञवालीले पहिलो डोज कोभिशिल्ड लगाएकाहरुका लागि दोस्रो डोजका लागि कूटनीतिक पहल भइरहेको बताए। अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप भारतले निर्यात बन्द गरेको अवस्थामा अन्य देशका उत्पादकसँग कुरा भइरहेको उनले जानकारी दिए।
'कोभिशिल्डको उपलब्धत नहुने अवस्थामा अस्ट्राजेनेकाले विकास गरेको खोपको खरिदको पहल भइरहेको छ। हामीले बेलायत, अमेरिकासँग कूटनीतिक रुपमा पहल गरेका छौँ,' उनले भने, 'अमेरिकासँग केही स्टक र केही अर्डर गरेर राखेको ६ करोड अस्ट्राजेनेका खोप रहेको छ। हामीले उपलब्ध गराउन अनुरोध गरेका छौँ। त्यहाँको नियामक निकायबाट स्वीकृत भएको छैन। त्यसपछि केही होला।'
मन्त्री ज्ञवालीले खोपको आयातका लागि कानुनीबाट कोभिड-१९ अध्यादेशबाट सहज बनाएको बताए। सोही अनुरुप उत्पादक देश तथा कम्पनीसँग सरकारले प्रत्यक्ष रुपमा कूटनीतिक माध्यमबाट खरिदका लागि पहल गरिरहेको बताए।
उनका अनुसार अमेरिकाकाको जोनसन, रुसको स्पुतनिक, चीनको सिनोफार्म तथा बेलायतलाई पत्र पठाइएको जानकारी दिए।
भारतमै उत्पादित कोभिशिल्डका लागि उच्चस्तरमा छलफल भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी राजनाथ कोविन्दसँग छलफल गरेको जानकारी दिए।
चीनले घोषणा गरेको खोप छिट्टै आउनेसमेत उनले जानकारी दिए। अनुदान घोषणा भएको मध्ये २ लाख डोज तिब्बत सरकारले जेठ २० मा पठाउने उनले बताए। बाँकी ८ लाख डोज नेपाल आफैंले चीनबाट ल्याउने मन्त्री ज्ञवालीले जानकारी दिए।