PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बुटवलको कोभिड अस्पतालमा पानी चुहिँदा आइसीयू जलमग्न, बाल्टीले पानी फाल्दै नर्स



पहिलोपोस्ट

बुटवलको कोभिड अस्पतालमा पानी चुहिँदा आइसीयू जलमग्न, बाल्टीले पानी फाल्दै नर्स

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रामनगरस्थित धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्थायी अस्पतालमा पानी चुहिन थालेको छ। तीन दिनदेखिको झरीका कारण आइसीयू कक्षमा पानी चुहिएको हो।

आइसीयू कक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन्। पुरानो भवनमा तयार गरिएको आइसीयू कक्षमा गत वर्ष पनि पानी चुहिएको थियो।

एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको र आइसीयूनै जलमग्न भएको छ।

उनले भनिन्, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौँ। गत वर्ष पनि पानी पर्दा मर्मत गर्न भनिएको थियो तर मर्मत नभएकाले बिरामीले समेत दुःख पाए। अहिले पनि उस्तै छ।’

त्यहाँ अहिले १३ जना बिरामीले उपचार गराइरहेका छन्। कोरोना विशेष अस्पतालका फोकल पर्सन डा नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए।

भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उनको भनाइ छ। उनले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताए।

उनले भने, ‘धेरै पानी परेमा फलसिलिङ पनि झर्न सक्छ। अहिले नर्सले बाल्टीमा पानी उठाएर फालेका छन्।’

उनले पानी रोकिने अवस्था नभएकोले विकल्पको खोजी गरिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell