PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

वीरगंजमै ढाडको सफल शल्यक्रिया, काठमाडौं र पटना जानु पर्ने समस्याबाट राहत



पहिलोपोस्ट

वीरगंजमै ढाडको सफल शल्यक्रिया, काठमाडौं र पटना जानु पर्ने समस्याबाट राहत

वीरगंज : पछिल्लो समय वीरगंजमै सफल स्पाइनल सर्जरी हुन थालेको छ। लिंकरोडस्थित भवानी हस्पिटलका न्यूरो सर्जन डा विपिन चौरसियाले एक साता अघि एक बिरामीको सफल शल्यक्रिया गरेका छन्।

भारतको बिहार राज्य गम्हरीया फुलवरका ३५ वर्षीय सतन चौरसियाको गत साता सफल शल्यक्रिया गरिएको थियो। उनी हाल निको भएर घर फर्केको डा चौरसियाले जानकारी गराए। उनका अनुसार यस्तो शल्यक्रिया जटिल मानिन्छ। वीरगंजमा नगन्य मात्रामा यो शल्यक्रिया हुन्छ।

यसमा हड्डीलाई काटेर नशालाई रिलिज गर्ने लेमिनेक्टोमी र बाइलेटरल डिसेक्टोमी गरी शल्यक्रिया गरिएको उनले बताए। बिरामीलाई तीन वर्षदेखि ढाड दुख्ने, सिधा हिँडडुल गर्न नसक्ने, हिँडडुल गर्दा टेढो उभेर हिँडने समस्या थियो।

उनी यसअघि ढाडको दुखाईलाई लिएर बिहारको राजधानी पटना, काठमाडौं लगायतको विभिन्न हाडजोर्नी तथा नशा रोग विशेषज्ञसँग परामर्श लिएर औषधी सेवन गर्दै आएका थिए। तर, आफू कहाँ आएपछि शल्यक्रिया गर्ने सल्लाह दिएको डा चौरसिया बताए।

बिरामीको एमआरआई गरेर हेर्दा ढाडको तीन लेभलमा स्पाइनको स्टोनिस र डिस्कको समस्या देखिएको उनले बताए। शल्यक्रियामा डेढ लाख खर्च लागेको बताइएको छ। एक साताको अस्पताल बसाईपछि बिरामी निको भएर घर फर्केका छन्।

यस्तो जटिल शल्यक्रिया वीरगंजमा हुन थालेपछि काठमाडौं र पटना जाने समस्याबाट बिरामीलाई राहत मिल्ने उनको विश्वास छ।

डा चौरसिया पर्साको बिन्दबासिनी गाउँपालिका २ बहुअर्वाभाठा निवासी हुन्। उनी बंगलादेशबाट न्यूरो सर्जरीमा एमएस अर्थात स्नातकोत्तर गरेका छन्। उनी एक वर्षदेखि वीरगंजको भवानी अस्पताल र जय पोली क्लिनिकमा कार्यरत छन्। डा चौरसियाले न्यूरो सर्जरीमा दर्जनौँ जर्नल लेखेका छन् भने अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell