PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ओलीको कारबाहीलाई चुनौती दिँदै माधव समूहका ७ जनाले लिए मन्त्रीको शपथ, तीन मन्त्री पार्टीबाट निष्कासित 



एम बम

ओलीको कारबाहीलाई चुनौती दिँदै माधव समूहका ७ जनाले लिए मन्त्रीको शपथ, तीन मन्त्री पार्टीबाट निष्कासित 

कैलालीः सुदूरपश्चिम प्रदेशमा एमालेको राजनीतिक विवाद थप चुलिँदै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्र जसरी नै प्रदेशमा पनि कारबाहीको डन्डा चलाएर तीन मन्त्रीलाई पार्टीबाटै निष्कासन गरेको छ। तर नेपाल समूहले त्यसलाई चुनौती दिँदै माओवादी केन्द्रसँग सत्ता साझेदार बन्न अग्रसर भएको छ। 

शुक्रबार एमालेको नेपाल समूहका तर्फबाट सात जनाले मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्मा सहभागी भएका छन्। जसमा तीन नयाँ मन्त्री छन्। एक जना पुरानै मन्त्री दोहोरिएका छन्। तीनले राज्यमन्त्रीको शपथ लिएका छन्। 

कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह र सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का नियुक्त भएकाले जिम्मेवारी पाए। यस्तै चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज राज्यमन्त्री नियुक्त भएका छन्। उनीहरूमध्ये शाह यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। अन्य नयाँ अनुहार हुन्। 

यस्तै शुक्रबार माओवादीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मानबहादुर धामी नियुक्त भएका छन्। मानबहादुर सुनारलाई सोही मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिएको छ। 

११ सदस्यीय मन्त्रीमण्डलमा माओवादीका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता देवी चौधरीबाहेक सबैले नयाँ जिम्मेवारी पाएका छन्। 

मन्त्रीलाई कारबाही

एमालेले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएकोमा अटेरी गरेपछि प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रबार तीन मन्त्रीलाई पार्टीबाट निष्कासन गरेको थियो। स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिएको भन्दै निष्कासन गरिएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए।

कारबाहीमा परेका दुई मन्त्री माया भट्ट र कृष्णराज सुवेदीले शुक्रबार नै मन्त्री पदबाट राजीनामा दिएका थिए। अर्का मन्त्री प्रकाश शाहले शुक्रबार नै आन्तरिक मामिला मन्त्रीबाट राजीनामा बुझाएर आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell