PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण



रिना थापा

अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण

पोखरा : बिहीवार राति अचानक कोरोना वार्डमा अक्सिजन अभाव भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी गरायो। रातिको करिब ९ देखि १० बजेसम्मको समयमा अस्पतालमा अक्सिजन अभावले खैलाबैला मच्चियो। बेडमा अक्सिजन अभावले छट्पटाइ रहेका बिरामी देखेर आफन्त आत्तिदै थिए।

आइसोलेसन वार्डमा बसेको एकजना बिरामीका अनुसार आफन्तको कोलाहाल र रुवाबासी थियो। आफन्त बिरामीलाई छिटो अक्सिजन दिनु भनेर रोइकराई गरिरहेका थिए। ‘मेरो बिरामी मरिसक्यो!’ आइसोलेसन वार्डमा आफन्त चिच्याई रहे।

आइसोलेसन वार्डमा अक्सिजन नपाएर जीवन-मरणको संघर्षमा रहेका बिरामीमध्ये एक थिइन् २५ वर्षीया सुत्केरी। जो सुत्केरी भएको ५ दिनमात्रै भएको थियो।

शुक्रवार बेथा लागेपछि श्रीमान र भान्जाले तनहुँबाट क्षेत्रीय अस्पताल ल्याएका थिए। अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखियो। तर, उनलाई बेथाले नछोडेपछि चिकित्सकले अपरेशन गरेर बच्चा निकाले। उनलाई आइसोलेसन वार्डमा सारियो।

बिहीवार राति अस्पतालले अक्सिजन अभाव भएको जानकारी गराएपछि आफन्तले अक्सिजन खोज्न पहल गरेका थिए। आफन्तले अक्सिजन खोजिदिन हरसम्भव सबैलाई हारगुहार गरे।

राति नै आफन्त र बिरामी कुरुवा औद्योगिक क्षेत्रस्थित पोखरा अक्सिजन र कालिगण्डकी अक्सिजन प्रालि पुगे। तर, दुवै प्रालिले अस्पताललाई आवश्यक मात्रामा अक्सिजन आपूर्ति गरेको सुनायो।

यता हाइफ्लोमा रहेका बिरामी भने अक्सिजन नपाएर मृत्युसँग संघर्ष गरिरहेका थिए। जीवन-मरणको संघर्ष गरिरहेकी सुत्केरीले अन्तिम सास फेरेको करिब १५ मिनेटपछि अस्पतालमा अक्सिजन आयो।

अस्पतालमा अक्सिजन अभाव हुँदा बिहीवार रातिदेखि शुक्रवार बिहानसम्म ६ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा ३ जना बिरामीलाई हाइफ्लोमा अक्सिजन दिइएको थियो।

क्षेत्रीय अस्पतालमा आज दिउँसोसम्म ८ जना संक्रमितले ज्यान गुमाए। मृत्यु हुनेमा सुत्केरीसहित कलेजो, मधुमेहका १/१ बिरामी थिए। १ जना बिरामी डायलासिस गरिरहेका थिए भने बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमित थिए।

आइसोलेसन वार्डमै बसेका एक बिरामी अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको बताउँछन्। उनी पनि कोरोना संक्रमित भएर आइसोलेसन वार्डमा बसेको २२ दिन पुग्यो। उनले डाक्टरलाई पटक-पटक बोलाउँदा पनि नआउने गुनासो गरे। क्षेत्रीय अस्पतालका बिरामी आफनो काम निर्वाह गरे जस्तो गर्ने, बिरामीलाई आपत पर्दा नआउने उनको भनाइ छ।

हिजोपनि डाक्टरलाई बोलाउँदा नआएको उनले बताए। उनका अनुसार अस्पतालमा केही दिन अगाडि समेत दूई जना संक्रमतिको अक्सिजन अभावकै कारण मृत्यु भएको थियो। केहीदिन अगाडिको समस्या पुनः दोहोरिएको उनको भनाइ छ।

‘अक्सिजन लगभग आधा घण्टा आइदिएन बिरामी छट्पटाएको छटपट्याई’, उनले भने, ‘यो भन्दा चारपाँच दिन अगाडि पनि अक्सिजन नै नभएर २ जना संक्रमितको मृत्यु भएको थियो।’

आइसोलेसन वार्डमा बसेका अर्का व्यक्तिको अनुसार राति अक्सिजन ल्याउन एकछिन मात्र ढिलो भएको भए हाइफ्लोमा राखेको सबै बिरामीको ज्यान खतरामा हुने अवस्था थियो। आधा घण्टासम्म सबै बिरामी छटपट्याई रहेको उनले बताइन्।

‘भर्खर एड्मिट गरेको एकजना बिरामी पनि अक्सिजन नपाएर आँखै अगाडि ढल्नु भयो’, उनले भनिन्, ‘मान्छे आत्तिएको देख्दा त्यो वार्डबाट म आफैँ बाहिर आएर रोए।’

उनले मलिन स्वरमा सुनाईनिन्, ‘बिरामीको आफन्तले हाम्रा बिरामीलाई छिटो अक्सिजन दिनु भनेर रोइकराइ रहनु भएको थियो।’

अस्पतालले हाइफ्लोमा रहेका बिरामीलाई अक्सिजन पुर्‍याउन नसक्दा मृत्यु भएको स्वीकार गरेको छ। पोखरा अक्सिजन प्रालिमा २० मिनेट बत्ति जाँदा अस्पतालमा अक्सिजन आपूर्तिमा समस्या देखिएको हो। तर, पोखरा अक्सिजन प्रालिले क्षेत्रीय अस्पताललाई आवश्यक मात्रामा अक्सिजन सिलिन्डर आपूर्ति गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell