PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बारास्थित नौतनका प्रहरी निरीक्षक यादवले 'घुस' पाएपछि छाडे चोरीका अभियुक्त!



राधेश्याम पटेल

बारास्थित नौतनका प्रहरी निरीक्षक यादवले 'घुस' पाएपछि छाडे चोरीका अभियुक्त!

वीरगंज : बारा प्रहरीले घुसमा आर्थिक नजराना लिएर चोरी मुद्दाका चार जना अभियुक्तलाई छोडेको आरोप लागेको छ। बारा प्रहरी मातहतको इलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकका प्रहरी निरीक्षक विन्देश्वर यादवले चोरीका अभियुक्तलाई मुद्दा नचलाई नियन्त्रणमा लिएको ६ दिनपछि रिहा गरेको आरोप लगेको हो।

उनले चोरीका अभियुक्तबाट दुई लाख नेपाली रुपैयाँ घुस लिएको आरोप लागेको छ। ईप्रका प्रसौनी नौतनले बिहीवार साँझ ३ बजे चोरीको अभियुक्तहरुलाई रिहा गरेको प्रहरी स्रोतले जनायो। घुसवापतको रकम पाएपछि प्रहरी निरीक्षक यादवले चोरीमा संलग्नलाई छाडेको बताइएको छ।

प्लाष्टिकको बोरा उत्पादन गर्ने बारा, प्रसौनी गापा ६ भलुहीस्थित जय पशुपतिनाथ इम्पेक्स प्रालिमा गत चैत १४ गते राति भएको थियो। चोरीमा संलग्न पाँचमध्ये ४ जना गत जेठ ७ गते पक्राउ परेका थिए। पक्राउ पर्नेमा बारा, परवानीपुर गापा-२ मुसहरीका २४ वर्षीय सन्नीकुमार मण्डल, सोही स्थानका २२ वर्षीय मुनिल कुमार र २४ वर्षीय विक्की प्रसाद, वीरगंज १० रानीघाटका रामजीप्रसाद चौहान र भारत, उत्तरप्रदेश बनारसका ३५ वर्षीय शुभम पाण्डे रहेका थिए। चोरीका मुख्य नाइके भनिएका वीरगंज १० रानीघाटकै अरबिन्दकुमार साह फरार छन्।

गत चैत १४ मै करिब १२ लाख मूल्य बराबरको बोरा उत्पादन गर्ने कच्चा पदार्थ प्लाष्टिक दाना उद्योगकै मजदुर र दुई जना ट्रयाक्टर चालकको सहायतामा चोरी गरी वीरगंजकै बजारमा बेचिएको छ। सर्लाही निवासी तुलसी रौनियार सञ्चालक रहेको उद्योगमा चोरीको समयमा उद्योग व्यवस्थपन पक्षले सोही बेला प्रसौनी प्रहरीमा निवेदन दिएपछि अनुसन्धान शुरु भएको थियो। र, गत साता प्रहरीले चोर समूहका सन्नीलाई वीरगंज १५ प्रतिमा चोकको एक व्यवसायीलाई बेचिरहेको अवस्थामा पक्राउ परेपछि चोरीको रहस्य खुलेको हो।

चोरी गिरोहका ५ जनामध्ये उद्योगमा काम गर्ने दुई जना चालक र एक जना मजदुर पनि संलग्न रहेका छन्। यस विषयमा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक यादवसँग बुझ्दा उनले साहुले जाहेरी नदिँदा व्यवहारिक रुपमै विवाद मिलाउन भनेपछि छाडिएको प्रतिक्रिया दिए। जबकी साहु रौनियारले घटना भएकै बेला लिखित किटानी जाहेरी दिएको बताउँछन्। बारा प्रहरी प्रमुख एसपी दिपेन्द्र शाहीले घटनाबारे भने, 'मैले पनि बुझेको र तारेखमा रिहा गरिएको सुनेको छु, उनले अनुसन्धान अघि बढाई दोषीलाई कारबाही गरिने आश्वासन दिए।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell