PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेपाली फुटबल टोलीले आज इराकको सामना गर्दै, प्रदर्शन सुधारमा जोड



पहिलोपोस्ट

नेपाली फुटबल टोलीले आज इराकको सामना गर्दै, प्रदर्शन सुधारमा जोड
फोटो : ANFA

काठमाडौं: विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दैछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपाली समयअनुसार राति १०:१५) माअल फैहा स्टेडियममा हुनेछ। खेलमा दर्शकलाई निषेध गरिएको छ।

आज हुने खेलमा नेपाली फुटबलको इतिहासमै पहिलो पटक नेपाली टोली सेतो जर्सीमा उत्रने छ।

बुधवार इराक पुगेकको नेपाली टोलीले बस्रा स्टेडियममा अभ्यास गरेको थियो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

नेपाल र इराक दुबैको लागि यो विश्वकप क्वालिफायर्सको तयारी खेल हुनेछ।

फीफा वरीयताको ६८ औं स्थानमा रहेको इराकले विश्वकप छनोट अन्तर्गतको खेलका लागि मैत्रीपूर्ण खेलहरुमा जोड दिइरहेको छ। छनोटमा इराक समूह सी मा ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा छ। इराक रहेको समूहमा बहराइरन, इरान, हङकङ र कम्बोडिया छ। विश्वकप छनोटको बाँकी खेल सुरु हुनु अघि इराकले चारवटा मैत्रीपूर्ण खेल खेलिसकेको छ। जसमा पछिल्लो खेलमा ताजकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो भने उज्बेकिस्तानलाई १-० ले हराएको थियो। त्यस्तै कुवेतमाथि २-१ को जित निकालेको इराकले युएईसँग गोलरहित बराबरी खेलेको थियो।

नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात कुनै बेल विश्वकपमा समेत सहभागिता जनाइसकेको इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ।

अर्कोतर्फ विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ। विश्वकप क्वालिफार्सपछि घरेलु मैदानमा थ्री नेशन्स कप खेलेको नेपाल च्याम्पियन बनेको थियो।

के भने प्रशिक्षक र कप्तानले?

नेपाली टोलीका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अमुताइरीले खेलको पूर्वसन्ध्यामा आफ्नो जोड नतिजामा भन्दा पनि प्रदर्शनमा हुने स्पस्ट पारे।

‘मलाई आशा छ हाम्रो युवा टिमको लागि यो खेल सिकाइ र अनुभव हुनेछ। नजिता खोज्नु भन्दा पनि यो आफूलाई मुल्याङ्कन गरेर भविष्यमा सुधारको लागि हुने खेलको रुपमा लिनु राम्रो हुनेछ,’ प्रशिक्षक अलमुताइरीले भने।

अलमुताइरीले यसअघि टिमले फर्मेसन फेरेर अट्याकमा जोड दिने संकेत गरेका थिए। उनले हिजो फेसबुकमा स्टाटस राख्दै फ्यानहरुलाई धैर्य राख्नसमेत आग्रह गरेका थिए।

‘हामीले फरक सोच, प्रकृया र यसको प्रयोग थालेकाले सुरुवातमा कठिन हुनेछ। त्यसैले उनीहरुलाई (खेलाडी) नतिजामा दवाब नदिऔं। राम्रो भविष्यका लागि हामी यहाँ छौं’, प्रशिक्षक अलमुताइरीले लेखेका थिए, ‘यदि हाम्रो पक्षमा नतिजा आएन भने मलाई दोष दिनुहोला। खेलाडीहरुलाई हैन।’

त्यस्तै कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले इराकविरुद्ध खेल्नु राम्रो अवसर भएको बताएका छन्।

‘नेपालले इराकविरुद्ध खेल्न पाउनु राम्रो अवसर हो र यसले विश्वकप क्वालिफायर्स अघि हाम्रो राम्रो अनुभव दिनेछ’, कप्तान लिम्बुले भने, ‘हामीले राम्रो ट्रेनिङ गरेका छौं र यो खेलका लागि तयार छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell