PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

युवा समूहहरुको संयुक्त प्रयासमा तिलगंगामा आइसोलेसन सेन्टर संचालनमा

युवा समूहहरुको संयुक्त प्रयासमा तिलगंगामा आइसोलेसन सेन्टर संचालनमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोभिड १९ संक्रमणको दोस्रो लहरसँगै देश अहिले निषेधाज्ञामा छ। संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा थप कडा निषेधाज्ञा लागू गरिएको छ। नयाँ संक्रमितको संख्यामा पहिलभन्दा कमी आएपनि ढुक्क हुने अवस्था छैन। काठमाडौं उपत्यकामा दैनिक करिब दुई हजारको संख्यामा संक्रमितहरु थपिँदै आएका छन्। यी मध्ये धेरैजसो होम आइसोलेसनमा छन्।

घरमै आइसोलेसनमा बस्न असहज हुनेहरुका लागि अहिले महानगरका टोलटोलाम आइसोलेसन केन्द्रहरु निर्माण भइरहेका छन्। काठमाडौं महानगरपालिका वडा ९ तिलगंगास्थित शारदा माविमा पनि संक्रमितहरुका लागि आइसोलेसन सेन्टर संचालन भइरहेको छ।

सेन्टरका संयोजक सन्तोष नेपाललले संक्रमित भएर असहज अवस्थामा होम आइसोलेसन मै बसिरहेकाहरुलाई लक्षित गर्दै सेन्टर संचालन गरिएको बताए। स्थानीय युवा समूहहरुले मिलेर पहिला १५ शय्याबाट सुरु भएको सेन्टर अहिले ४० शय्याको बनेको छ। मिरमिरे युवा समाज, विजय चोक युवा क्लब , सिनामंगल युथ एलायन्स, श्री पञ्च कुमारी समाज, कृती फाउन्डेसन र नवन्यानो फाउन्डसेनको संयुक्तमा प्रयास सेन्टर निर्माण भएको हो। सेन्टर निर्माणमा काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोग रहेको छ।  

सेन्टर व्यवस्थापन समितिका सदस्य एवम् मिरमिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाहका भन्छन् 'दोस्रो लहरमा प्रवेश गरेपछि हामी स्थानीय युवा सक्रिय रह्यौं। पहिलो लहर फैलिएको बेलामा पनि हामी विभिन्न संस्थाबाट सक्रिय रहेका थियौं। यसपटक छरिएर भन्दा एकजुट भएर आइसोलेसन सेन्टर संचालन गर्‍यौं।'

सक्रिय कोरोना संक्रमित घरमा रहँदा परिवार र समाजमा संक्रमण फैलिन सक्ने भएकाले 'चेन ब्रेक' गर्न आइसोलेसन सेन्टर निर्माण गरिएको उनले बताए। घरमा असहज हुँदाहुँदै पनि बस्दा संक्रमितको स्वास्थ्य र घरभर संक्रमणको जोखिम हुने हुनाले गाह्रो भए सेन्टरमा आउन उनले आग्रह गरे।

हाल सेन्टरमा अक्सिजनको मात्रा कम भएको, सीटी भ्यालु कम भएका संक्रमितहरु रहेका छन्। गौशालमा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरीका संक्रमित जवानहरु पनि यस सेन्टरमा छन्। संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन २४ घण्टै चिकित्सक र नर्सको व्यवस्था गरिएको छ। शाहका अनुसार हाल सेन्टरसँग दुईजना चिकित्सक र चारजना नर्स आबद्ध छन्।

सेन्टरमा बिहान ब्रेकफास्ट, खाना, दिउँसो खाजा र बेलुकी खानाका साथै बिचबिचमा सुप र चियाहरु नि:शुल्क उपलब्ध गराइएको शाह बताउँछन्।

सेन्टरमा रहेका संक्रमितहरुलाई तत्काल अस्पताल लग्नुपरेमा दुईचारवटा अस्पतालसँग समन्वय गरि लग्ने बारेमा छलफल भइरहेको उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell