काठमाडौंः अभिनेत्री प्रियंका कार्कीले सरकारले घोषणा गरेको चुनावको विषयलाई लिएर आक्रोश पोखेकी छिन्।
गर्भवती भएर घरमा नै आराम गरिरहेकी अभिनेत्री कार्कीले शनिवार फेसबुकमा स्ट्याटस लेख्दै अहिलेको समयमा सरकारले चुनाव घोषणा गरेर गलत गरेको बताएकी छिन्।अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिने र अहिलेको प्राथमिकता नपर्ने सामान्य कुरा पनि देख्न र बुझ्न नसकेको भन्दै प्रश्न गरेकी छिन्।
उनले लेखेको छिन्,'अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने? देश र जनतालाई साँच्चै यही चाहिएको हो त यो समयमा? बुझ पचाएर बस्ने? अझै पनि आफूले आफूसँग नजर मिलाउन सक्छौँ ए सरकार? राति निन्द्रा रामो लाग्छ? तिम्रो देश जलिरहेको छ। जनताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ। अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझ्नुस!'
उनले चुनावमा भोटको आस गर्ने सरकालाई भोट पाउने लायक काम गरेर देखाउन समेत अनुरोध गरेकी छिन्। ४० अर्ब चुनावको खर्च अक्सिजन, भेन्जिटेलर, भ्याक्सिन लगायतमा खर्च गर्नसमेत अनुरोध गरेकी छिन्।
'जनता रहे त देश रहन नि होइन र? चुनाव त बिस्तारी समय परिस्थिति ठीक भएपछि गरौला नि! चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायक काम गरेर त देखाउनुस् पहिले।'
