काठमाडौं : विवेकशील साझाका पूर्व अध्यक्ष उज्वल थापाको उपचार खर्च बेहोर्ने बीएन्डसी मेडिकल कलेजका संचालक तथा विवादित व्यवसायी दुर्गा प्रसाईको प्रस्ताव अस्वीकार गरिएको छ।
'हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,' विवेकशील साझाका अध्यक्ष मिलन पाण्डेले फेसबुकमार्फत् भनेका छन्।
उज्वल थापाको अवस्थाबारे 'नोट' जारी गर्दै पाण्डेले जनाएअनुसार उनको उपचारका लागि सुरु गरिएको गोफन्डमीमा २२ हजार २ सय ९१ डलर अर्थात् २६ लाख ५० हजार रुपंयाँ संकलन भएको छ। 'त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ,' पाण्डेले उज्वल थापाको परिवार, साथी तथा शुभेच्छुकहरुका तर्फबाट जारी गरेको नोटमा भनिएको छ, 'उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ।'
थापाको मेडिसिटी अस्पतालमा इसीएमओ प्रविधिबाट उपचार भइरहेको छ। उपचारका लागि खर्च ठूलो लाग्ने भएपछि थापाको परिवारको सहमतिमा क्राउड फन्डिङ सुरु गरिएको थियो।
आजमात्रै उनको सम्पूर्ण उपचार खर्च दुर्गा प्रसाई गर्ने वक्तव्य जारी गरेका थिए। प्रसाईको विवादित मेडिकल कलेजका विरुद्धमा थापाको नेतृत्वमा लामो समयसम्म आन्दोलन भएको थियो।
