फिल्म 'राधे – योर मस्ट वान्टेड भाइ'को बक्सअफिस कलेक्सन निराशाजनक देखिएको छ। फिल्म सिनेमाघरमार्फत् प्रदर्शनमा नआउने भएपछि जीले उक्त फिल्मबाट राम्रो कमाइ अपेक्षासमेत नगरेको बक्सअफिस इन्डियाले जनाएको छ।
राधेको कमजोर व्यवसायिक प्रस्तुतिले आम मानिसको मागमा फिल्म रिलिज गर्ने ट्रेन्ड अर्थात् प्रिमियम भिडियो अन डिमान्डलाई कमजोर साबित गरेको जनाइएको छ। समीक्षात्मक हिसाबमा पनि फिल्मले सकारात्मक टिप्पणी बटुलेको छैन। यस्तैमा सलमानका बुवा सलिम खानले पनि 'राधे'लाई कमजोर फिल्मको संज्ञा दिए। फिल्म हेरेपछि उनले भने,'लाग्छ इन्डस्ट्रीमा राम्रो फिल्म लेख्ने लेखक छैनन्।' कुशल लेखक नहुनुको कारण दिए - हिन्दी र उर्दु साहित्य नपढ्नु।
सलिम स्वयं पटकथाकार हुन्। बलिउड हंगामाका अनुसार उनले सलमानको यसअघिको फिल्म 'दबङ्ग ३' राम्रो भएको र 'बजरङ्गी भाइजान' उत्कृष्ट भएको बताएका छन्।
फिल्मको सर्वाधिकार जीले एक सय ८० करोडमा जीलाई बेचेको खबर सार्वजनिक भएको थियो। बक्सअफिस इन्डियाका अनुसार त्यस रकममा फिल्म अन्तिम – द फाइनल ट्रुथ र कागजको पनि सर्वाधिकार दिएको जनाइएको छ। हालसम्म फिल्मले कुल कति जम्मा गर्यो भन्नेबारे चाहिं यकिन तथ्याङ्क छैन। कारण – फिल्म डिजिटल प्ल्याटफर्मबाट प्रदर्शनमा आउनु।