PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

स्थायी कमिटीको निर्णय विपरीत सुदूरपश्चिमको मन्त्रिमण्डलमा सहभागी ७ जनालाई एमालेले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

स्थायी कमिटीको निर्णय विपरीत सुदूरपश्चिमको मन्त्रिमण्डलमा सहभागी ७ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

कैलाली : एमालेको स्थायी कमिटी बैठकको निर्णय विपरीत मन्त्री तथा राज्यमन्त्री बनेको थप ७ जनालाई एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ।

यसअघि सरकारबाट फिर्ता नभएका तीन मन्त्रीलाई स्पष्टीकरणपछि पार्टीबाट निष्कासनका लागि सिफारिस गरिसकेको प्रदेश कमिटीले थप ७ जनालाई सोही कारबाहीको तयारी थालेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए।

यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको रावलले जानकारी दिए। रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ। स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा मन्त्री र राज्यमन्त्रीको नियुक्ति लिएकाले स्पष्टीकरण सोधिएको उनले बताए।

यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णय विपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीलाई पठाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell