काठमाडौं : नेपाल सरकारले सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। कक्षा १२ सम्मका सम्पूर्ण छात्राले महिनावारी हुँदा विद्यालयमै स्यानिटरी प्याड पाउनेछन्।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए। स्यानिटरी प्याडसँगै कक्षा ९ सम्मका सबै विद्यार्थीलाई रंगिन पाठ्यपुस्तक छापी शैक्षिक सत्र सुरु हुनुअघि नै वितरण गर्न र कक्षा १२ सम्मका सबै छात्र तथा छात्रालाई पाठ्य पुस्तक वितरणका लागि गरी कुल ४ अर्ब ७९ करोड छुट्याइएको हो।
आउँदो आर्थिक वर्षको बजेटमा सरकारले छात्राहरू केन्द्रित छात्रवृत्ति योजना अघि सारेको छ। दलित र मुस्लिम समुदाय एवं मुक्त कमलरी छात्राले सबै विषयमा उच्च शिक्षासम्म सरकारी छात्रवृत्ति पाउनेछन्।