PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया, 'सकारात्मक छ, कार्यान्वयन हेछौँ'



पहिलोपोस्ट

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया, 'सकारात्मक छ, कार्यान्वयन हेछौँ'

काठमाडौँः सरकारले आगामी आव २०७८/७९ को बजेट सकारात्मक रहेको प्रतिक्रिया निजी क्षेत्रले दिएको छ। सरकारले कोभिड-१९ को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएकोप्रति सन्तोष जनाएको निजी क्षेत्रले कार्यान्वयन भने चुनौतीपूर्ण रहेको प्रतिक्रिया जनाएको छ।

सरकारले जनताको स्वास्थ्य र स्वास्थ्य पूर्वाधारमा बढी प्राथमिकता दिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए। निजी क्षेत्रले बजेट अघि दिएको अधिकांश सुझाव सरकारले सम्बोधन गर्ने प्रयास गरेको ढकालले बताए।

उनले कोरोना महामारीले सबैभन्दा बढी असर परेको पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रसरह सुविधा दिने बजेटको प्रावधान प्रति निजी क्षेत्रले खुशी व्यक्त गरे। पर्यटन बढाउन घुम्ने बिदाको सुविधा, पर्यटकलाई अनअराइभल भीषा, संरक्षण क्षेत्रमा पर्यटन पूर्वाधार बनाउनेलगायतका पक्ष सम्बोधन गरिएको ढकालले बताए।

नेपालमा उत्पादन हुने खनिजलगायतका वस्तुलाई निर्यात गर्न सरकारले बजेटमा सम्बोधन गरेकाले समग्रमा बजेट सकारात्मक रहेको ढकालले प्रतिक्रिया दिए। बजेटले गरेको व्यवस्था समग्रमा नकारात्मक नरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए।

'बजेटलाई सरसर्ती सुन्दा पोजेटिभ नै भन्छु म नराम्रो भन्दिनँ, सरकारले राम्रो जेस्चर प्रस्तुत गरेको छ,' मुरारकाले भने।

उद्योगहरुलाई प्रोत्साहन गर्दै नयाँ करहरुका दर नथपिएकाले बजेटले सहयोग पुग्ने अपेक्षा मुरारकाले गरे। तर, आयकरको सीमा बढाउन भने बजेट चुकेको मुरारकाले प्रतिक्रिया दिए। बजेट खर्च गराउन भने सरकारलाई चुनौती रहेको उनले बताए।

यस्तै, अम्बे ग्रुपका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले पनि बजेटलाई नराम्रो भन्न नसकिने प्रतिक्रिया दिए। सरकारले बजेटका विभिन्न करलगायतका पक्षहरुलाई कसरी अघि बढाउँछ र ठूलो बजेट भएकाले कार्यान्वयनमा चुनौती देखिन सक्ने न्यौपानेले बताए। सरकारको प्राथमिकता कोभिड नियन्त्रण र खोप वितरणमा केन्द्रित भएको देखिएको न्यौपानेले बताए।

त्यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले बजेट विस्तृत रहेको जानकारी दिए। शाहले अहिलेको बजेट महामारीमा मात्रै केन्द्रित हुनुपर्नेमा नभएर र आगामी आवमै अर्थतन्त्र पुरानै लयमा फर्किने परिकल्पना गरेको बताए।

सरकारले चुनावलाई आगामी आवको बजेटमा समेटेको र बजेट विस्तारित एवम् छरिएको शाहले जानकारी दिए। कोरोना महामारीका कारण बजेट खर्च निकै चुनौतीपूर्ण हुने शाहले प्रतिक्रिया दिएका छन्।

वित्तीय क्षेत्रले बजेट सुहाउँदो मौद्रिक नीतिको प्रतिक्षा गरिरहेको भन्दै शाहले आफू बजेटप्रति सकारात्मक रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell