PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेपाली फुटबल टोली इराकसँग ६-२ गोलअन्तरले पराजित

नेपाली फुटबल टोली इराकसँग ६-२ गोलअन्तरले पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफमा ४-२ ले पछि परेको नेपालमाथि इराकले थप दुई गोल गर्दै सहज जित निकालेको हो।

रोमाञ्चक खेलको सातौं मिनेटमा नै इराकले अला अब्दुल्ला खासिनको गोलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै नेपालले खेल बराबरीमा ल्यायो। अन्जन विष्टको प्रहार इराकका डिफेन्डर अला अब्दुल्ला खासिनले जोगाउन खोज्दा गोल भएको थियो। विष्टको गोल गोलको सहायतामा नेपालले खेल बराबरीमा ल्याएको थियो।

त्यस्तै, २९ औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। मनिष डाँगीले डेभ्यु खेलमै गोल गर्दा नेपालले अग्रता बनाएको थियो। यद्यपि यो अग्रता धेरै समय टिक्न भने सकेन।

खेलको ३९ औं मिनेटमा मोहम्मद अब्दुलजाराले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसको अर्को मिनेटमै ऐमेन हुसैनले गोल थप्दै अग्रता दिलाए। त्यस्तै, इन्ज्युरी समयमा हुसैनले नै अर्को गोल थप्दा पहिलो हाफमा नेपाल ४-२ ले पछि पर्‍यो।

दोस्रो हाफमा इराकका लागि मोहनद अली र सजाद जसिमले गोल थपेका थिए। नेपाल र इराक दुबैको लागि यो विश्वकप क्वालिफायर्सको तयारी खेलका रुपमा लिइएको छ।

फिफा वरीयताको ६८ औं स्थानमा रहेको इराकले विश्वकप छनोट अन्तर्गतको खेलका लागि मैत्रीपूर्ण खेलहरुमा जोड दिइरहेको छ। छनोटमा इराक समूह सी मा ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा छ।

इराक रहेको समूहमा बहराइरन, इरान, हङकङ र कम्बोडिया छ। विश्वकप छनोटको बाँकी खेल सुरु हुनु अघि इराकले चारवटा मैत्रीपूर्ण खेल खेलिसकेको छ। जसमा पछिल्लो खेलमा ताजकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो भने उज्बेकिस्तानलाई १-० ले हराएको थियो।

त्यस्तै, कुवेतमाथि २-१ को जित निकालेको इराकले युएईसँग गोलरहित बराबरी खेलेको थियो।

फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात कुनै बेला विश्वकपमा समेत सहभागिता जनाइसकेको इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ।

अर्कोतर्फ विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

फोटोहरु : इराक फुटबल एसोसियसन र एन्फा



ट्रेन्डिङ पोस्ट

Ncell