PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई



पहिलोपोस्ट

म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

यूईएफए च्याम्पियन्स लिगको उपाधि इङ्ग्लिस क्लब चेल्सीले जितेको छ। गएराति पोर्चुगलमा सम्पन्न फाइनल खेलमा अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि १-० को साँघुरो जित निकाल्दै चेल्सीले च्याम्पियन्स लिग जितेको हो।

रोमाञ्चक खेलको पहिलो हाफमै चेल्सीले निर्णायक गोल गरेको थियो। चेल्सीको जितका लागि खेलको ४२ औं मिनेटमा काइ हाभर्टजले गरेको गोल निर्णायक बन्यो।

चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको प्रिमियर लिगको च्याम्पियन सिटी उपाधि उचाल्न चुकेको हो।

लिगमा समूह सीको शीर्षस्थानमा रहँदै सिटीले लिगमा राम्रो सुरुवात गरेको थियो भने चेल्सी समूह ई को शीर्षस्थानमा रहेको थियो। त्यस्तै अन्तिम १६ को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पहिलो लेगमा ०-१ र घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० ले हराउँदै समग्रमा ३-० को जित निकालेर चेल्सी अन्तिम ८ मा प्रवेश गरेको थियो। उता सिटीले अन्तिम १६ मा जर्मन क्लब मुन्छेनग्लाडबाखलाई पहिलो र दोस्रो लेगमै समान २-० ले हराउँदै समग्रमा ४-० को जित निकालेर अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो।

क्वाटरफाइनलमा चेल्सीले पोर्चुगिच क्लब पोर्टोमाथि २-० जित र १-० को हार गरी समग्रमा २-१ ले जित निकाल्दै सेमिफाइनको यात्रा तय गरेको थियो। उता सिटीले क्वाटरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई पहिलो र दोस्रो लेगमै समान २-१ गोलअन्तरले हराउँदै समग्रमा ४-१ को जित निकाल्यो। र सेमिफाइनलको यात्रा तय गर्‍यो।

सेमिफाइनलमा चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई र सिटीले फ्रेन्च क्लब पीएसजीलाई हराएको थियो। मड्रिडसँग पहिलो लेगमा १-१ को बराबरी खेलेको चेल्सीले दोस्रो लेगमा २-० को जित निकाल्दै समग्रमा ३-१ को जित निकालेर फाइनल प्रवेश गर्‍यो। उता सिटीले सेमिफाइनलको पहिलो लेगमा २-१ र दोस्रो लेगमा २-० ले पीएसजीलाई ४-१ को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell