PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना महामारी लगत्तै ठप्प फिल्म क्षेत्र : कोठाभाडा पनि तिर्न नसक्ने अवस्थामा प्राविधिकहरू



लक्ष्मी बलायर

कोरोना महामारी लगत्तै ठप्प फिल्म क्षेत्र : कोठाभाडा पनि तिर्न नसक्ने अवस्थामा प्राविधिकहरू
फोटो : Puskar Lama/facebook

काठमाडौं : कुलदीप अधिकारीले नेपाली फिल्म क्षेत्रमा काम गर्न थालेको १२ वर्ष भयो। फिल्म ‘नैना रेशम’बाट ड्रेसम्यानको काम सुरु गरेका हुन् उनले। जीवन पर्दा पछाडि बसेर स्क्रिनमा देखिने कलाकारका लागि लुगा मिलाएरै चलाइरहेका थिए। एक्कासी कोरोना भाइरस संक्रमण फैलियो। संक्रमण नियन्त्रणका लागि लकडाउन भयो। त्यसअघि नै ठप्प भइसकेको थियो फिल्म क्षेत्र। त्यसपछि सुरु भयो कुलदीपको अभावका दिन।

उनी श्रीमती र छोरीसँग लोकन्थलीमा कोठा लिएर बस्छन्। कोठाको भाडा तिर्नुपर्छ, पाँच हजार। भन्छन्, ‘एक वर्षदेखिको कोठाको भाडा पनि तिर्न सकेको छैन। बेलाबेला घरबेटी आएर किचकिच गर्छन्। तर चुपचाप सुन्नु बाहेक विकल्प छैन। काम बन्द छ अब कसरी कोठा भाडा तिर्ने होला?’

गत वर्ष लकडाउनमा पेट भर्न नि मुस्किल भएपछि घर गएका थिए। तिहारपछि मात्रै शहर फर्किए। अवस्था सामान्य भएपछि काम पाइने आशाले। बिचमा केही काम पनि गरे। हाँस्य टेलिश्रृखंला ‘सक्कीगोनी’ र प्रकाश सपूतको गीत ‘मेरो पनि होइन र?’ मा अभिनय समेत गरेका रहेछन्। तर, अभिनय उनको पेशा होइन। त्यो त मौका मात्र हो। ड्रेसम्यानकै जिम्मेवारी पाएका थिए ‘कबड्डी ४’मा। तर, संक्रमणको असरले त्यो पनि रोकियो।

निषेधाज्ञा हुनुअघि घरबाट खाद्यान्न पठाए। अहिलेसम्म भोकै बस्नु परेको छैन उनले। बुधवार मात्रै सुमिना घिमीरेले दिएको राहतले केही सहज बनाएको छ। प्रश्न एउटै – काम नै नभइ कोठा भाडा कसरी तिर्ने?  

+++

मेकअप आर्टिस्ट निर्मला आचार्यलाई पनि फिल्म क्षेत्र चलायमान नहुँदा निकै गाह्रो भइरहेको छ। २०६३ सालदेखि फिल्म क्षेत्रमा काम गरेकी उनले पहिलो पटक यसरी अभाव भोग्नुपर्‍यो।

हाँस्य टेलिश्रृखंला ‘मेरी बास्सै’ र 'हल्का रमाइलो'मा काम गर्थिन् उनी। कोभिडका कारण ती कार्यक्रमहरू पनि बन्द भए। काम बन्द भएपछि कोठाको भाडा कसरी तिर्नु? कोठा एउटा मात्र हो। तर, तिर्नुपर्ने सात हजार।

गतवर्ष प्राविधिक संघबाट राहत र चलचित्र विकास बोर्डबाट पाएको पाँच हजार रुपैयाँमा मन बुझाउनु परेको थियो। लागेको ऋण, कमाएर टरौंला भन्दाभन्दै फेरि निषेधाज्ञा सुरु भयो।

+++

सन्तोष पराजुलीले १७ वर्षमा फिल्म क्षेत्रको यो विजोग देखेका थिएनन्। उनी स्वयंको अवस्था उही। स्पटब्वाइका रुपमा काम सुरु गरेका उनले पछि लाइटम्यानको काम गर्न थाले। लकडाउन यता जीवनमा उज्यालो देख्न पाएका छैनन्।

कलाकारलाई लाखौँ पारिश्रमिक दिने भए पनि प्राविधिकहरुलाई दैनिक १ हजार दिन पनि गाह्रो मान्ने र त्यही पैसा पनि महिनौं रोकिदिने उनको अनुभव छ। फिल्म ‘कस्मिक लब’ र ‘क्वीन’ बाट त काम गरेको पैसा समेत नपाएको गुनासो गरे।

'बिस्तारै अवस्था ठीक होला भन्ने आशा थियो। त्यो पनि मर्‍यो। कसरी भाडा तिर्ने होला भनेर मन निकै पिरोल्छ। यस्तो अवस्था खेप्नु पर्दा त लाग्छ - किन यो क्षेत्रमा आएँ होला?'

गत वर्ष लकडाउनमा खान समेत गाह्रो अवस्था आउन लागेको थियो। तर प्राविधिक संघले राहत दिएर चुल्हो बालिदिएको उनले सुनाएँ। यो पटक पनि त्यही आशा छ उनको।

+++

फिल्म छायाँकन स्थलमा स्पट ब्वाइको रुपमा काम गर्न थालेको पाँच वर्ष भयो नविन खरेलले। जोरपाटीको डेरामा घरबेटीलाई हरेक महिना ६ हजार ५ सय बुझाउन हम्मेहम्मे परेको सुनाउँछन्।

‘काम ठीकै चलिरहेको थियो तर लकडाउनले गर्दा रोकियो। यो साल त गाउँ पनि जान पाइनँ। लकडाउनघि म्युजिक भिडियोमा काम गरेको थिएँ त्यसैले धानिरहेको छु। गत वर्ष त जसोतसो भाडा तिरेकै थिएँ। तर यो वर्ष त निकालिनुपर्छ होला,’ उनले सुनाएँ।

चलचित्र प्राविधिकहरूलाई सहयोग गर्न जुट्न थाले कलाकार

कोरोनाका कारण प्राविधिकलाई दुई छाक टार्नकै गाह्रो भएको खबर सुनेपछि देश विदेशमा रहेका कलाकारहरू सहयोग गर्न जुटेका छन्। केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरे।

बुधबार अभिनेत्री सुमिना घिमिरेले पनि ४० प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेकी छिन्। उनले प्रत्येक परिवारलाई २५ केजीको एक बोरा चामल, दाल, एक क्रेट अण्डा, एक पेटी चाउचाउ, साबुन, मसला र एक प्याकेट मास्क वितरण गरेकी छिन्।

त्यसैगरी कलाकार निर्मल शर्माले समस्यामा परेका चलचित्र प्राविधिकका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन्। उनले आफू जोडिएको लक्ष्मी प्रतिष्ठानमार्फत् नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई बुधबार रकम हस्तान्तरण गरेका हुन्।

त्यसैगरी अमेरिकामा रहेका अभिनेता जीवन लुइटेल, राजबल्लभ कोईराला र निरज बरालले ५१/५१ हजार चलचित्र प्राविधिकको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका छन्।

अमेरिकामा नै रहेका कलाकार गणेश उप्रेतीले ५० हजार, अभिनेता मुकेश आचार्यले २१ हजार र वेल्जियममा रहेका कलाकार तथा निर्माता तेजेन्द्र कडेलले १५ हजार दिएको संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।

कलाकार तथा निर्देशक अग्रज केसीले पनि अस्ट्रेलियाबाट १५ हजार सहयोग गरेका छन्।अमेरिकाबाट चलचित्र निर्देशक महेन्द्र बुढाथोकीले पनि २५ हजार र चलचित्र छायाँकार पवन गौतमले पनि १५ हजार सहयोग गरेका छन्।

बिहीवार झरीको वास्ता नगरी करिश्मा मानन्धरले पनि नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा ३० प्राविधिक परिवारलाई आफै गएर खाद्यान्न सहयोग गरिन्। उनले एक बोरा चामल,नुन ,तेलर ग्यास भर्नका लागि जनही १५ सयका दरले सहयोग गरेको पुस्कर लामाले बताए।

चलचित्र प्राविधिकहरुलाई सहयोग गर्न जुनसुकै समयमा पनि तयार छु : अध्यक्ष पुस्कर लामा

यो निषेधाज्ञाबिच समस्यामा परेका १ सय २० परिवारलाई खाद्यान्न सहयोग गरिसकेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए। चलचित्रको पर्दा पछाडि काम गर्ने प्राविधिक करिब १५ सय जना छन्। काठमाडौं, भत्तपुर र ललितपुर टाढाटाढा प्राविधिकहरु छरिएर बसेका छन्। त्यसैले सबैलाई एकचोटी राहत पुर्‍याउन गाह्रो भइरहेको बताउँछन् उनी।

‘हामी लगातार राहत वितरणमा छौँ। कोरोना र कडा निषेधाज्ञालाई पालना गरी सबैलाई राहत पुर्‍याउने छौँ। जो जसलाई पुग्न बाँकी छ। उहाँहरु धेर्यताको साथ बसिदिनुहोला। आइतबार/ सोमबार सम्म सबैको घर घरमा राहत पुग्ने छ,’ उनले बताए।

कुनै पनि प्राविधिकहरूलाई गाह्रो परेको बेला प्राविधिक संघमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्। उहाँहरुलाई तत्कालै राहत प्रदान गराउने समेत उनले अठोट गरे।

धेरै प्राविधिकहरु भएको उहाँहरुको समस्या कसरी न्युनिकरण गर्न कसरी सकिन्छ। छिटो भन्दा छिटो प्राविधिकहरुको दैनिकीसहज बनाउन लागि कोबिड १९ बिपत व्यवस्थापन कोष स्थापना गरेको लामाले जानकारी दिए।

संघको पहिलो प्राथमिकता खाद्यान्न वितरण रहेको छ। खाद्यान्न सँगसँगै केहि अप्ठ्यारो परेका प्राविधिकहरुलाई छनोट गरेर आर्थिक रुपमा सहयोग गर्ने तयारीमा रहेको उनले सुनाए।

देश विदेशमा रहेका कलाकारहरु, प्राविधिकहरुलाई र समाजसेवीहरु सक्ने जति सहयोग गर्न उनले आव्हान समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell