PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गण्डकी प्रदेशसभामा केन्द्रको आलोचना : विपक्षीद्वारा ओलीलाई 'तानाशाह' को संज्ञा, मन्त्रीले भने 'ओलीसँग डराए पनि गुरुङसँग डराउनु पर्दैन'



रिना थापा

गण्डकी प्रदेशसभामा केन्द्रको आलोचना : विपक्षीद्वारा ओलीलाई 'तानाशाह' को संज्ञा, मन्त्रीले भने 'ओलीसँग डराए पनि गुरुङसँग डराउनु पर्दैन'
FILE PHOTO

पोखरा : गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ। अधिवेशनको पहिलो दिन आज प्रदेश सभामा रहेका विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन्।

बैठकमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत लिन सके लिनका लागि शुभकामना दिए। तर विश्वासको मत लिन नसके वैकल्पिक सरकारलाई सहज बनाउनुपर्ने उनको मत छ।

'सहजरुपले विश्वासको मत लिन सक्नुहुन्छ भने लिन सक्नुहुन्छ शुभकामना,' उनले भने,' तर विपक्षीले वैकल्पिक सरकार ल्याउँछ भने त्यसलाई पनि सहज गर्नुपर्छ।' त्यस्तै, उनले संविधानको हुर्मत लिने कामबाट राष्ट्रिय राजनीतिक संकट पैदा भए प्रदेश सभाको भविष्य नै अन्यौलमा रहेको बताए।

'यो बजेट अधिवेशनले बजेट निर्माणमा सार्थकता प्राप्त गरोस्,' चुमानले भने,'प्रदेश सभा बाच्ने हो कि मर्ने स्थितिमा संचालन गरिरहेका छौँ यो अधिवेशनले अकाल मृत्युवरणमा नपुर्‍याओस्।'

कांग्रेस सांसद कृष्ण चन्द्र नेपाली पोख्रेलले आफ्नो  धेरै समय प्रदेशमा पछिल्लो समय भएको घटनाक्रमको विवरणको व्याख्या गर्दै बिताए।  

केन्द्र सरकारको आलोचना गर्दै उनले प्रदेश प्रमुखले वैकल्पिक सरकारको सम्भावना हुँदा मान्यता नदिएर प्रदेश सभा मार्न खोजेको आरोप लगाए। मुख्यमन्त्री गुरुङले सत्ता लोभको कालो टिका नलगाउने अपेक्षा राखेको उनले बताए।

जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'तानाशाह' को संज्ञा दिए। प्रदेश सभाको बजेट अधिवेशनमा उनले केन्द्रको बजेटमा असन्तुष्टि व्यक्त गरे र सत्ता बचाउन  बजेटलाई 'हेल्मेट' बनाइएको बताए।

उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको घटनालाई उल्लेख गर्दै कोरोना नियन्त्रण र रोकथाममा प्रदेशको तयारी प्रती प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्टेसन रोजगारी रहेको समेत टिप्पणी गरे।

जनमोर्चा सांसद पियारी थापाले अल्पमतको सरकारले बजेट सम्बन्धी छलफल गरेको निर्थक रहेको टिप्पणी गरिन्। बजेट सम्बन्धी छलफल अगाडि विश्वासको मत लिएर बहुमतको सरकार सिद्ध गर्नुपर्ने उनको भनाइ थियो।

अस्वास्थ भएका कारण आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अनुपस्थित थिए। उनको अनुपस्थितमा मुख्यमन्त्रीको तर्फबाट सरकारका प्रवक्ता रामशरण बस्नेतले सम्बोधन गरे।

प्रवक्ता बस्नेतले महामारीको समयमा सबै दललाई मिलेर जान आग्रह गरेका छन्।

'अरु दलको साथीहरुले नयाँ सरकार बनाउनुस भनेर छोडेको हैन र,' उनले प्रश्न गरे,'हामीले बढाई चढाई कुरा नगरौं मिलेर जाउ।'

अल्पमतको सरकार भएको आफुहरुलाई ज्ञात रहेको बताउँदै उनले विश्वासको मत पाउने दाबी गरे।

प्रवक्ता बस्नेतले संसद मर्छ कि मार्छन कि जस्तो चिन्ता लिएर पृथ्वीसुब्बा गुरुङसँग डराउन नपर्ने बताए।

'केपी ओलिसँग डराउनु पर्ने स्थिति भएपनि पृथ्वीसुब्बा गुरुङसंग डराउनु पर्दैन' उनले भने।

आजदेखी सुरु भएको अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गर्दै छन्। राजीनामा दिएपछि वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री पदमा नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ।

मुख्यमन्त्री गुरुङले जेठ २९ गतेभित्र विश्वासको मत नपाए प्रदेश मध्यावधि चुनावमा धकेलिने सम्भावना रहन्छ। ६० सांसद रहेको प्रदेश सभामा एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन्।

मुख्यमन्त्री गुरुङलाई आवश्यक ३ मत जनमोर्चासँग छ। यसअघि जनमोर्चाले कांग्रेस नेतृत्वमा सरकार बनाउन साथ दिने निर्णय गरेको थियो। यद्यपि सांसद कृष्ण थापाले भने सर्मथन दिएका थिएनन्।

अहिले जनमोर्चा कसरी अघि बढ्छ भन्ने कुरा टुङ्गो नभएको नेताहरु बताउँछन्। सत्ता समीकरणमा निर्णायक भुमिका खेलेको जनमोर्चा तटस्थ बसे प्रदेश मध्यावधिमा चुनाव उन्मुख हुने नेताहरु बताउँछन्। 

केन्द्रमा प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए। गण्डकीमा पनि गुरुङ 'ओली पथ' मा हिँड्न सक्ने भन्दै विपक्षीहरुको विश्लेषण छ।

सोमबार १ बजे हुने अधिवेशनको दोस्रो बैठकमा बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ। प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने बाध्यता छ। 

नियमित अधिवेशनबाट बजेट नआए प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्था आउने अर्थ मन्त्री किरण गुरुङले बताइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell