बुटवलः लुम्बिनी प्रदेशका चार मन्त्रीले सोमबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन्। मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगको निर्णय अनुसार चार मन्त्रीको नाम मतदाता सूचीमा थपिएको हो। सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशानुसार आयोगले यसअघि सांसदबाट हटाइएका चार जनालाई मतदाता थप गरेको हो।
सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको खुलातर्फको एक सदस्यका लागि निर्वाचन हुँदैछ।
आयोगले यसअघि नामावलीमा नाम समावेश नगरेका बहालवाला मन्त्रीहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय नाम सूचीमा थप गरेको हो।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गरेलगत्तै चारै जनाले मन्त्रीको शपथ लिएका थिए। पार्टीले मन्त्रीबाट फिर्ता हुने निर्देशन दिए पनि फिर्ता नभएपछि उनीहरुलाई कारबाही गरिएको थियो। दलको कारबाही अनुसार प्रदेशसभामा स्थान रिक्तको सूचना प्रकाशित गरिएको थियो। चारै जना जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका हुन्।
प्रदेश निर्वाचन कार्यालयले जारी गरेको सूचनामा चारै मन्त्रीको नाम अद्यावधिक गरिएको छ। सर्वोच्चले जेठ ३ गते जारी गरेको आदेशानुसार निर्वाचन कार्यालयले पूरक मतदाता नामावली तयार पारेको हो।
चार मतदाता थपिएसँगै मतदाता प्रदेश सांसदको संख्या ८३ पुगेको छ। स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय पुगेका छन्। स्थानीय तहबाट लुम्बिनीमा २१७ मतदाता छन्।
राष्ट्रियसभा सदस्य चयनका लागि हुने निर्वाचनमा प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ। मतभार प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १८ कायम हुनेछ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार निर्वाचन हुनेछ। मतदानमा सहभागी हुनेका लागि कोभिड परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। संक्रमितका लागि छुट्टै मतदानस्थल बनाइएको छ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए।
उपनिर्वाचनमा दुई उम्मेदवारी चुनावी मैदानमा छन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्। एमालेको माधव नेपाल समूहले पनि पाण्डेलाई नै समर्थन गरेको छ।
खड्का यसअघि पनि लुम्बिनीबाटै निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनलाई दलले कारबाही गरेको थियो। कारबाहीपछि दल त्याग अनुसार सांसदबाट पदुमक्त भएका थिए।
पाण्डे यसअघि एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य हुन्। एमालेको सांसदबाट राजीनामा दिएर उनी कांग्रेस प्रवेश गरेका थिए। प्रवेशसँगै उम्मेदवार बनाइएको हो।
